बागमतीमा सत्ता चर्चा, जमकट्टेलले ६ साउनमा विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक ६ साउनमा बस्ने भएको छ । सोही बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने भएका छन् । बागमतीका प्रदेशका सभामुख भुवनकुमार पाठकले ६ साउन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका हुन् ।

संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

सभामुख पाठकले बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोली ५ साउन शनिबार दिउँसो ३ बजेका लागि राखेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार हुने प्रदेश सभा बैठकको कार्यसूची तय गर्नेछ । नयाँ सत्ता समीकरण अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले केन्द्रमा सरकार गठन गरेकाले बागमतीमा पनि नयाँ सरकार गठन हुँदैछ ।

जमकट्टेलले विश्वासको पुरा मत नपाउने पक्का
नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले असार २४ गते सामूहिक राजिनामा दिएपछि कामचलाउ सरकारको रुपमा रहेका मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत पाउने संभावना नै नरहेको बताइन्छ । एमाले सरकारबाट बाहिरिएपछि जम्कट्टेलको मन्त्रिमण्डलमाहाल नेकपा माओवादीको तर्फबाट ४ जना, नेकपा एकीकृत समाजवादीको तर्फबाट ३ जना र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री छन् । केन्द्रीय सरकार गठनको अवस्था हेरेर राजिनामा वा विश्वासको मत रोज्ने बताउँदै आएका उनले प्रदेश सभाको फेस गर्ने भएका हुन् ।

जम्कट्टेलको सत्ता यात्रा
मुख्यमन्त्री जम्कट्टेल २०७४ सालको प्रदेशको निर्वाचनपछिका अधिकांश समय सत्ताको केन्द्रमा रहँदै आए । प्रदेश सरकार गठनदेखि हालसम्म ६ वर्ष उनी सत्तामा रहे । २०७४ सालमा २३ प्रदेश सभा सदस्य हुँदा पनि सरकार निर्माण र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले २०७९ सालको निर्वाचनबाट २१ प्रदेश सभा सदस्यमा झर्दा समेत उत्तिकै सशक्त रहे । प्रदेशको २ कार्यकालको संसदमा १० महिनामात्र माओवादी केन्द्र प्रतिपक्षमा रहेको छ ।

१० महिनाको प्रतिपक्ष भूमिका बाहेक अधिकांश समय उनी सरकारको नेतृत्व र मन्त्रीको भूमिकामा छन् । बहालवाला मन्त्री भइरहेका बखत २०७९ को निर्वाचनपछि गठन भएको प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । उनले तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे संघीय संसदमा निर्वाचित भएपछि २०७९ पुस २५ मा एमाले, राप्रपा र माओवादी केन्द्रको गठबन्धनबाट उनी मुख्यमन्त्री बनेका थिए ।

प्रदेश सरकार गठन हुँदा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट सत्ता यात्रा सुरु गरेका जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री हुँदै मुख्यमन्त्रीसम्मको जिम्मेवारीमा रहेर काम गरे । १७ महिनादेखि मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका उनले यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री ३ वर्ष र आर्थिक मामिला तथा योजना मन्त्री १४ महिना रहे ।

यता ६ वर्षदेखि सत्तामा रहेको माओवादी केन्द्र ६ साउनपछि प्रतिपक्षको भूमिकामा रहने निश्चित छ । केन्द्रीय तहमा सत्ता परिवर्तनसँगै माओवादी केन्द्र प्रतिपक्षमा रहेको अवस्थामा बागमतीमा समेत उ प्रतिपक्षमा पुग्ने निश्चित भएको हो । जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि सरकार टिकाउन आगामी साउन २२ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकोले उनले साउन ६ गते विश्वासको मत लिदै छन् । तर प्रदेशको अंक गणित अनुसार उनको पक्षमा बहुमत नपुग्ने परिस्थिति छ ।

०७९ माघ ३ गते, चैत १० मा र ०८० चैत १९ गते गरी ३ पटक विश्वासको मत लिएर सरकार टिकाएका जम्कट्टेल यसपटक केन्द्रीय सत्ता समिकरणका कारण संकट छन् । चैत १९ गते विश्वासको मत लिदा उनले ५६ सांसदको मात्रै समर्थन पाएका थिए ।

प्रदेश सभाको अंकगणित अनुसार ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहन्छ । मुख्यमन्त्री जम्कट्टेललाई हाल २९ सांसदको समर्थन छ । उनले विश्वासको मत प्राप्त गर्न थप २७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा पहिलो र दोस्रो दल रहेको कांग्रेस–एमालेको गठबन्धन रहेकोले सरकारमा रहिरहन सङ््या जुटाउन असम्भव छ ।

बागमती प्रदेश सभाको अंकगणित
७ राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभाको ठुलो दल कांग्रेसको ३७ र दोस्रो ठुलो दल एमालेको २७ सांसद छन् । माओवादी केन्द्रको २१ सांसद रहँदा, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

राप्रपा र नेमकिपाको समर्थन रहँदा समेत उनको पक्षमा ४५ सांसद रहने छ । यद्यपी यी दुई दलले समेत उनलाई समर्थन गर्ने देखिदैन । राप्रपाले केन्द्रमा समेत माओवादी केन्द्रका पुषपकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएन् । यसको असर प्रदेशमा समेत देखिनेछ । नेमकिपाले हालसम्म कुनै पनि सरकारलाई समर्थन गरेको छैन् ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता