काठमाडौँ । बागमतीमा नेपाली काँग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मंगलबार काँग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको एक काँग्रेस नेताले बताए ।
उनका अनुसार प्रदेशसभाको अवधि अब ४१ महिना रहेको छ । काँग्रेस र एमालेबीच २०-२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो । बागमतीमा पहिलो चरणमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन् । काँग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय काँग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ ।
यसअघि मंगलबार बिहान एमालेले आर्थिक मामिला र काँग्रेसले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको थियो ।
एमालेबाट बागमतीमा मन्त्री बन्ने नाम टुंगियो
नेकपा एमालेले बागमती प्रदेश सरकारमा सामेल हुने ६ जना मन्त्रीको नाम टुंग्याएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने भएको हो ।
एमालेले यो पटक मन्त्री बनाउदा नयाँलाई अवसर दिएको छ । मन्त्री बन्ने ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् । बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्दै छन् ।
त्यस्तै कांग्रेसले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझीलगायत मन्त्रीका आकांक्षी रहेका छन् ।






