काठमाडौं । शेर्पा समुदायको जन्मसँगै जीवन र मृत्युसँग सम्बन्धित विभिन्न सँस्कार समेटिएको कथामा चलचित्र ‘कार्साङ’को निर्माण थलिएको छ । यो चलिचत्रको मँगलबारबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँदेखि शेर्पा परम्परा अनुसार पुजासहित छायांकन सुरु गरिएको छ ।
बौद्ध भिक्षुहरूबाट विशेष पूजा गराएर छायाँकन थालिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई यम शेर्पाले निर्देशन गरिरहेका छन् । लगातार एक महिनाको छायाँकन सेड्युल राखिएको पनि निर्देशक शेर्पाले जानकारी गराए ।
यो चलचित्रको मुख्य अभिनेता दयाहाङ राई चलचित्र प्रति निकै उत्साहित छन् । यसअघि तामाङ, मगर, राई, लिम्बु, थारु, थकाली जातिको चरित्र निर्वाह गरिसकेका दयाहाङले यो चलचित्रमा शेर्पा चरित्र निर्वाह गर्दैछन्,‘मैले पहिलो पटक शेर्पा पात्रको भूमिका निभाउँदै छु । त्यो भन्दा पनि ठुलोकुरा मैले यो चलचित्रमार्फत शेर्पा समुदायको संस्कृतिसँग नजिक हुन पाएको छु ।’ चलचित्र कार्साङबाट आफुले शेर्पा सुमदायलाई निकै नजिकबाट जान्न पाउने विश्वास यी अभिनेताले व्यक्त गरेका छन् ।
यो चलचित्रमा दयाहाङसँगै सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा, सरिता गिरी, माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना, सृष्टि ढुंगानासहित सिन्धुपालचोकका स्थानीय शेर्पा कलाकारहरुको अभिनय रहने छ ।
यम शेर्पालेको यो डेब्यू निर्देशन चलचित्र हो । उनी स्वयंको यसमा कथा, पटकथा तथा संवाद रहेको छ । यो चलिचत्रका निर्माता पुरुषोत्तम प्रधान हुन् । प्रधान आफैं छायाकार पनि हुन् । गोविन्द बोहरा सह–निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् । यसमा मनोज थापा मगर, विश्व दोखको संगीत रहने छ । जसमा अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।






