हिन्दू संस्कृति र गोसाइँकुण्ड

नेपाल विश्व मानचित्रमा अद्वितीय साँस्कृतिक, रीतिरिवाज एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक हो । नेपालमा विभिन्न चाडबाड मनाइन्छन् । सबै चाडबाडको आफ्नै महत्व छ । यसै सिलसिलामा हिन्दू संस्कृतिमा साउन महिनाको महत्व भएकाले सो’bout यस लेखमा संक्षेपमा चर्चा गर्ने जमर्काे गरिएको छ । साउन महिना हिन्दू संस्कृतिमा महत्वपूर्ण हुन्छ । पौराणिक व्याख्यानुसार साउन महिनामा समुन्द्र मन्थन भएको थियो । सो मन्थनबाट कालकुट विष निस्केको कथन छ । सबैलाई रक्षा गर्न देवताका पनि देव महादेवले सो विष आफैंले सेवन गरी नीलकण्ठ भएर गोसाइँकुण्डमा गई सुतेर विषको असर कम पारेको पौराणिक व्याख्या पाइन्छ ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड पर्यटकीय एवं धार्मिक आस्थाको केन्द्र हो । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत सूचीकृत छ । माथि उल्लेख गरेजस्तै समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशूलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशूलधारा) उत्पन्न भएपछि कुण्डमा सयन गरी चिसो पानीद्वारा विषको डाहा शान्त पारेका हुँदा गोसाइँकुण्डमा त्रिशूलधाराको पानीले गोसाइँकुण्ड महादेवलाई सिञ्चन गर्ने गरेको विभिन्न पौराणिक भनाइ छ । बाग्मती, विष्णुमती, सप्तकोशी, गण्डकी आदि नदीको तिरमा स्नान गरी हरियालीमा फर्किएको धार्मिक महिना साउन व्रतालु महिलाका हरिया चुरा पोते, वस्त्रले देव देवालयमा निकै चहलपहल बढेको छ । साउन महिनामा देवताका पनि देव महादेवका मन्दिरहरूका साथै गोसाइँकुण्डलगायत अन्य विभिन्न महादेवको मन्दिर तथा तीर्थाटनमा जनैपूर्णिमा तथा ऋषितर्पणी पूर्णिमामा दर्शनार्थी तथा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ ।

त्रिशूली नदीको उद्गमस्थल त्रिशूलधारा गोसाइँकुण्डसहित १ सय ८ कुण्डको संगम हो

त्रिशूली नदीको उद्गमस्थल त्रिशूलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आमाकुण्डलगायत १ सय ८ कुण्डहरू, अमरसिंह गुफालगायतका ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्वले यस क्षेत्र धनी छ । जैविक विविधतताले धनी यस क्षेत्रको वन, वनस्पति, वन्यजन्तु, चराचुरुंगी, पुतली, जडिबुटी, गुम्बा, धार्मिक स्थान, तमाङ तथा हेल्मो संस्कृति, वेशभूषा र ज्ञान गुनका कुराहरू जानकारी पाउन सकिने भएकाले साथै यी कुण्डहरूमा स्नान गरी महादेवको दर्शन गर्नाले पितृ मोक्ष हुनुका साथै स्वयं पनि पवित्र हुने भनाइ छ । यी क्षेत्रहरूले राष्ट्रिय संस्कृतिहरूको स्वरूप लिन यहाँको धार्मिक, लोकसंस्कृतिको एकतामा समाहित भएर नेपाली माटोलाई सुगन्ध बोकेर परम्परा बचाएको छ । आफ्नो मैलिकता जातीय पहिचान सिर्जिएका लोकसांस्कृतिक नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोक संस्कृतिको मुख्य स्थान लिएको पाइन्छ । यसै बहु रीतिरिवाज, चालचलन, रहनसहन, वेशभूषा, बोलिवचन, साइनो, अभिवादन, धर्मकर्म, लोकपरम्परा, कलाकौशल, लोकसाहित्य, धार्मिक संस्कृति र तिनको दैनिक उपयोग्य सामानको प्रयोगमा माझिएको हिमाली जीवनशैली यहाँका र राष्ट्रकै सम्पत्ति हुन् । यहाँका कुण्डहरू राष्ट्रिय धरोहरका रूपमा छन्, जुन सधैं जिवन्त रहनेछन् ।

गोसाइँकुण्ड क्षेत्रमा सयभन्दा बढी प्रजातिका वनस्पति पाइन्छन् । विश्वमा लोप हुने खतराको सूचीमा परेका वनस्पतिहरूमा कुट्की, जट्टामसी, क्षेतरे, सर्मागुरु, विष, अमुत, धोपजडी, खिलदार, पदमचाल पाइन्छन् भने रैथाने प्रजातिका वनस्पतिहरूमा मेकोनोपासिस धोजी, मेकोनोपासिस टेलारी, हेरा, किल्यम, प्रिमुला, औरेटा, पेडिकोलासिस, सिउडोरेजिलिएना, रोडोडेन्डोन, कायनियन पाइन्छन् । त्यस्तै, प्रमुख जंगली जनावरमा डाँफे, कस्तुरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छ । वास्तविक रूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक, पर्यटकीय, हिमाली क्षेत्रकै उत्तम क्षेत्र हो । देवादि देव महादेवले विष सेवन गरी असर कम गर्न सयन गरेको गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण छ ।

हरियो चुरा, लुगा, पोते लगाउँदै हातगोडामा मेहेन्दीका बुट्टा बनाएर देवादि देव महादेवलाई बेलपाती चढाउने संस्कृति कायमै छ

यसै सिलसिलामा साउन महिनामा शिवलिंगमा जल तथा बेलपाती चढाए महादेव प्रशन्न हुने मान्यता छ । साउन महिना बोल बमका लागि पनि ठूलो महत्व छ । शिवलिंगमा जल चढाउन पहेंलो कपडाधारी खाली खुट्टा जल लिएर बोलबम भनी धरानको पिण्डेश्वर, काठमाडौंको पशुपतिनाथ, बागद्वार, महोत्तरीको सोनामाईथान, सिद्धानाथ, सिरहाको कमलामाई दोभान, चितवनको देवघाट, मुक्तिनाथ, स्वर्गद्वारी क्षेत्रलगायत देशभरि नै शिवभक्तहरूको भीड लाग्ने गर्छ ।

विशेषगरी, १ साउनबाट महत्वपूर्ण चाडबाडहरू सुरु हुने मानिन्छ । साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पनि भनिन्छ । श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिन्छ । यस दक्षिणायनको धार्मिक महत्व छ । यो महिना वैद्विक सनातन हिन्दू धर्मावलम्बीहरूको पवित्र महिना मानिन्छ । त्यसमा पनि हरेक सोमबारको विशेष महत्व छ । विशेषगरी साउनको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते लगाउँदै हातगोडामा मेहेन्दीका बुट्टा बनाएर देवादि देव महादेवको मन्दिरमा जल, भाङ, धतुरो तथा बेलपाती चढाउने विशेष संस्कृति छ । यस्तो गरेपछि सुस्वास्थ एवं दीर्घायु हुने तथा विवाह नभएका महिलाले पार्वतीले महादेव पति पाएजस्तै पति पाउने धार्मिक विश्वास छ ।

साउने संक्रान्तिको दिन हिन्दू परम्परानुसार लुतो फ्याँक्ने विशेष संस्कृति छ । सो समय गर्मी र वर्षात्को महिना र खेतीमा व्यस्त हुने समय भएकाले सोको प्रभावबाट चर्म तथा छालासम्बन्धी रोग जस्तै– लुतो, दाग, घमौरा, खटिरा आउन सक्ने भएकाले साउने संक्रान्तिको दिन राम्रोसँग स्नान गरी बेलुकापख सबै परिवार जम्मा भई विशेष पूजा सामग्री कुकुरडाइनो, कुरिलो, मकरकाँजी, गुह्यसरो, पानीसरो आदि आयुर्वेदिक औषधि वनस्पति तयार पारी अग्नि खडा गरी हरियो मकै चढाई सबैले खाई लुतो फ्याँकिन्छ । त्यस्तै, साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिका दिन थारू समुदायहरूले गुरिया पर्व मनाउने गरेका पाइन्छ । त्यस्तै, अन्य जातजातिले पनि साउन महिनामा आफ्नो संस्कृतिनुसार विभिन्न पर्वहरू मनाउने गरेका पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी