चलचित्र चलाउन प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालको सहारा

काठमाडौं । सत्य घटनामा आधारित भनिएको चलचित्र ‘नमेटिने घाउ’ ले दुई नेतालाई बिशेष स्थान दिएर फस्ट लुक्स (पोष्टर) सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको दुई फरक पोष्टर यो चलचित्रको निर्माण समुहले यतिबेला सार्वजनिक गरेको छ ।

यो चलचित्रमा उनीहरु अतिथि भूमिकामा रहेका छन् । तर चलचित्रको पोष्टरमा मुख्य स्थान दिइएको छ । प्रधानमन्त्री ओलीलाई बिशेष स्थान दिएर बाँकी कलाकारलाई समेटिएको यो चलचित्रको पोष्टर सोमबार मात्र सार्वजनिक गरिएको थियो । सो पोष्टर’bout विभिन्न प्रतिक्रिया आईरहेको बेला निर्माण पक्षले फेरी बुधबार अर्को पोष्टर सार्वजनिक गरेको छ । यो दोश्रो पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् ।

चलचित्रलाई अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण गरेका हुन् । यी दुई नेतालाई पोष्टरमा राखेका कारण निर्देशक ढुँगानामा बिबादमा छन् । प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपाल र उनीहरुका कार्यकर्ताको सहारामा यो चलचित्र चलाउन यी दुईलाई पोष्टरमा राखिएको भन्दै उनको टिप्पणी गरिएको छ ।

चलचित्रलाई आउँदो ७ भदौबाट देशव्यापी रिलिज गर्ने उनले बताएका छन् । चलचित्रको मिति नजिकिँदै गर्दा उनले एक दिनको अन्तरमा नेपालका शिर्ष नेताहरुलाई राखेर दुई पोष्टर सार्वजनिक गरेका हुन् । पोष्टरमा एसिड पीडितहरुलाई पनि समेटिएको छ ।

चलचित्र नमेटिने घाउको प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालको विशेष भूमिका रहेका कारण दुबै नेताको अनुमतिमा दुबैलाई बिशेष महत्व दिएर दुई पोष्टर सार्वजनिक गरिएको पनि रमितले बताएका छन् । चलचित्रमा अभिनयसँगै दुबै नेताले स्वराँकन पनि गरेको उनले बताएका छन् । यता आफुहरुको स्वराँकन सकिएपछि प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालले यो चलचित्र फरक र बन्नै पर्ने विषयमा बनाईएको बताएका छन् ।

चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि यसमा अभिनय छ ।

निर्देशक ढुँगानाका अनुसार एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा यो चलचित्र आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ ।

चलचित्रमा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपालसँगै मुस्कान खातुन, सुरवीर पण्डित, सुनिल कटुवाल, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

epaper

ताजा समाचार

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता