गुल्मी । अविरल बर्षासँगै आएको पहिरोले गुल्मीको मालिकाका गाउँपालिका–२ दर्लिङका ४३ घर विस्थापित भएका छन् । पहिरोको जोखिम बढेपछि मालिका गाउँपालिका–२ दर्लिङ्गका विभिन्न बस्तीका ४३ परिवारले घर छोडिसकेका छन् । दलित परिवार बसोबास गर्ने दर्लिङ्गको कोसिलाबाँझ, दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका ४३ घर परिवार बिस्थापित भएका हुन् ।
पाटाखर्कका १७, धारका १४, उल्लेरका आठ, दुनामका दुई र कोशिलाबाँझका दुई घर परिवार पहिरोका कारण विस्थापित भएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष बिनोद श्रीसले जानकारी दिए । अहिले बिस्थापित परिवार च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रको भवन, सिद्ध प्रावि र छिमेकीकोमा आश्रय लिएर बसेको श्रीसले जानकारी दिए ।
श्रीसले आफुहरुले सुरक्षित ठाउँमा बस्न आग्रह गर्ने बाहेकको बिकल्प नभएको बताए । गाउँपालिका अध्यक्ष देविराम अर्यालले करिव चार दर्जन घरपरिवार बिस्थापित, बिद्युत, सडक, खानेपानी, बिद्यालय लगायतका पहिरोले क्षति पुराएकाले केन्द्र र प्रदेशमा समन्वय गरेर काम अगाडी बढाउने बताए ।
भुकम्पपछि गाउँलेको उठिबास
०७२ सालपछि बर्खा लाग्ने बित्तिकै स्थानीयलाई घरबास छोड्ने अवस्था छ । उनीहरु पहिरोको जोखिममा परेको वर्षौ भयो । ठूलो पानी आए स्थानीयको आधा मन हुन्छ । तर, बिपन्न परिवार निस्केर जाने ठाउँ पनि छैन् । मालिका गाउँपालिका–२ दर्लिङ्गको दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका नागरिकले अहिले पानी परे घर छोड्छन् ।
०७२ सालको भुकम्पपछि चर्किएका जमिन बर्षेनी भासिने र खस्ने भएपछि गाउँमा बस्ने स्थिती नभएको स्थानीय हरिलाल विकले गुनासो गरे । सरकारले पनि कोशिला बाँझलाई बस्ती स्थानान्तरण गर्नुपर्ने गाउँको सूचीमा राखेको छ । तर, अहिलेसम्म स्थानान्तरणको कुनै पनि प्रक्रिया सुरु नै भएको छैन । पहिरोले पानीका मुहानहरु बगाएको छ ।
गाउँलेले खुल्ला आकाशको पानी पिउँछन् । गन्तव्यमा पुग्ने सडक टुटेका छन् । राज्यका सबै स्रोतसाधन र सेवासुविधाको पहुँचबाट धेरै टाढा रहेका दर्लिङ्गका गाउँका दलित तथा विपन्न परिवार धेरै समस्या र पीडाबीच बाँच्न बाध्य भएको स्थानीय युवा नेता रविन्द्र विश्वकर्माले बताए ।
धार र काभ्राबाङ्गमा बस्तीनै बग्ने खतरा हुँदा पनि विपन्नताको कारण अन्यत्र सर्न नसकेका २२–२३ घर छन् । घरभित्रै मुल फुट्ने, ढिक चर्कने, बारीका काल्नाहरु झर्ने, घरहरु टेडो पर्ने लगायतका समस्या भइरहेपनि बस्ती छोड्न कसैले सक्दैनन् । बर्षातका कारण दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गमा लामो समय बिद्युत सेवा अवरुद्ध भएको विश्वकर्माले बताए ।
बर्षातले बिचारे पाटाखर्क र भुजेलगाडे च्यानडाँडा खानेपानी आयोजना पहिरोले बगाउँदा एक सय बढि परिवारलाई खानेपानीका लागि समस्या भएको छ । अहिले स्थानीय खुल्ला आकाशको पानी पिउन बाध्य भएका छन् । नेपाल प्रहरीको टोलीद्धारा अहिले पूर्णक्षति भएको र पशुचौपाय क्षति भएका परिवारको मुचुल्का गर्ने काम बाहेक राज्यको तर्फबाट अरु केहि नभएको विश्वकर्माले जानकारी दिए । हिउँदमा पनि राज्यका सुविधा निकै कम पुग्ने ठाउँमा आफुहरुको बिपद्को खबर समेत सरकार र तिनका निकायलाई नभएको स्थानीय टिकाराम घर्तिले गुनासो गरे ।
अविरल बर्षाले डेढ महिनामै मुसिकोट नगरपालिका र मालिका गाउँपालिका गरेर नौ जनाको ज्यान गएको छ । घाइते दुई जना अस्पतालमै उपचार गरिरहेका छन् । पहिरोले च्यानडाडा माबिको ९ कोठे भवन चर्किएर जोखिममा परेको छ ।