धनगढी । कैलालीमा ९० हजार चौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । साउन २३ देखि ३१ गतेसम्म खोप साप्ताहिकमा जिल्लाका ९० हजार चौपायालाई खोप लगाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीले कैलालीका १३ पालिकामा १० हजार डोजका दरले खोप वितरण गरेको छ । यो पटक जिल्लाका एक लाख ५० हजार चौपायाका लागि खोप मौज्दात छ ।
सरकारले सन् २०३० सम्म खोरेत उन्मुलन गर्ने लक्ष्य राखेकाले हरेक ६ महिनामा चौपायालाई खोरेत विरुद्धको खोप लगाइने भएको छ । कैलालीमा साउन २३ देखि ३१ गतेसम्म ९० हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ । खोप सप्ताह घोषणा गर्दै जिल्लाका १३ वटै पालिकामा खोरेत विरुद्धको खोप अभियान चलाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीले हरेक पालिकामा खोरेत विरुद्धको १० हजार डोज वितरण गरी खोप अभियान चलाइएको भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए ।
उनले यो पटक कैलालीमा करिब एक लाख ५० हजार चौपायालाई खोरेत विरुद्धको खोप लगाउन खोप मौज्दात रहेको बताए । डाक्टर अवस्थीले कैलालीमा भदौ १५ गतेसम्म खोरेत विरुद्धको खोप अभियान चलाइने बताए ।
डाक्टर अवस्थीकाअनुसार खोप सप्ताहमा सबैभन्दा बढी कैलारी गाउँपालिकामा १६ हजार चौपायालाई खोप लगाइएको छ । त्यस्तै, गोदावरीमा १३ हजार ४५० चौपायालाई खोप लगाइएको छ भने गौरीगंगा र घोडाघोडी नगरपालिकामा समान १० हजार ६५०, धनगढीमा ९ हजार १७० चौपायालाई खोप लगाइएको छ ।
त्यसैगरी लम्कीचुहामा ८ हजार ७५०, टिकापुर र जानकीमा समान ७ हजार ५ सय, जोशीपुरमा ५ हजार, भजनीमा ७९८ र वर्दगोरियामा ५ सय चौपायालाई खोप लगाइएको छ भने चुरे र मोहन्याल गाउँपालिकामा खोपको विवरण उपलब्ध नभएको उनले बताए ।
खोरेत भाइरस अर्थात् विशाणुबाट लाग्ने रोग हो । यो रोग लाग्न नदिन हरेक ६÷६ महिनामा खोप लगाउनुपर्छ । खोरेत रोगका कारण पशुजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिन्न । त्यसैले सरकारले सन् २०३० सम्म खोरेत रोग उन्मुलन गर्ने लक्ष्य राखेकाले सघन खोप कार्यक्रम चलाइएको छ ।
कैलालीमा भदौ १५ गतेसम्म पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइने भएको छ । यसका लागि ७० जना जनशक्ति खटाइएको छ। खोपको आवश्यकताअनुसार आपूर्ति मिलाउने व्यवस्था मिलाइएको डाक्टर अवस्थीले बताए । कैलालीमा भदौ १५ सम्म खोरेत विरुद्धको खोप लगाउने र त्यसपछि लम्की स्किन विरुद्धको खोप अभियान चल्ने भएको छ ।