काठमाडौं । साम्बाला र द रेड सुटकेस गरी दुई नेपाली चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा फेरी ठुलो उपब्धी प्राप्त भएको छ । स्वीजरल्याण्डमा आयोजित ७७ औं अन्तराष्ट्रिय लोकार्नो फिल्म फेस्टिभल २०२४ नेपाली चलचित्र सम्बालाबाट उत्कृष्ट अभिनयकालागि सो चलचित्रकी मुख्य अभिनेत्री थिन्ले ल्हामोले प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन् । अभिनेत्री थिन्लेले यो अवार्ड शनिबार महोत्सबमा ग्रहण गरेको यसका निर्देशक मीनबहादुर भामले राजधानीलाई बताएका छन् ।
यो अवार्ड प्राप्त गरेपछि निर्देशक भामले राजधानीसँग भने,‘ विश्व प्रतिष्ठित अन्तराष्ट्रिय लोकार्नो फिल्म फेस्टिभलमा हाम्रो चलचित्र चयन भएर प्रतिस्पर्धामा आउनु नै हाम्रो लागि गौरबको कुरा थिए । त्यसमा पनि साम्बाला चलचित्रकी मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जित्दा हामी निकै रोमाञ्चित र गौरवान्भित भएका छौं ।’ दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारका अवार्ड यो महोत्सबमा पहिलो पटक हासिल गरेको पनि उनले बताए । यस अघि दक्षिण एशियाका कुनै पनि कलाकारले उत्कृष्ट अभिनय बापतको यो अवार्ड जित्न सकेका थिएनन् ।
निर्देशक भामले भने,‘ हामी साम्बाला टीम, कलाकार थिन्लेलाई यस उदाहरणीय सफलताका लागि हार्दिक बधाई दिँदै आयोजक टिमप्रति आभार प्रकट गर्न चाहन्छ । यो अवार्ड जित्नु थिन्लेको उत्कृष्ट अभिनयको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्त्वपूर्ण क्षण हो ।’ यो अवार्ड नेपाली कलाकारले जित्नुको अर्थ नेपाली चलचित्रको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास आफुहरुले लिएको पनि उनले बताए । यही २८ भदौबाट नेपालमा प्रदर्शन हुने यो चलचित्र हिमाली भेगकी एक शेर्पा महिलाको सँघर्ष कथामा आधारित रहेको छ । विभिन्न अन्तराष्ट्रिय महोत्सबमा चयन भएको यो अहिलेसम्मकै सबैभन्दा महँगो नेपाली चलचित्र मानिएको छ । यसको लागत १० करोड भन्दा माथि रहेको छ ।
यस्तै फिडेल देवकोटा निर्देशित तथा रामकृष्ण पोखरेल निर्मित चलचित्र ‘द रेड सुटकेस’ले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा शुक्रबार बेस्ट फिल्मको अवार्ड जितेको छ । फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड जितेको हो । निर्माता रामकृष्णले राजधानीसँग भने,‘हामीले फेरी अर्को अन्तराष्ट्रिय अवार्ड हाँसिल गरेकोमा यो खुसी म र मेरो टिम सम्पूर्ण दर्शकमा साझा गर्न चाहन्छु ।’ उनले यो अवार्डका लागि सम्पूर्ण निर्माण टिमप्रति आभार व्यक्त गरेका छन्,‘यो अवार्ड समग्र नेपाली सिनेमाकर्मी र नेपालीको उपलब्धी हो । यसले हाम्रा सिनेमा पनि कमजोर छैनन् भन्ने पुष्टि गरेको छ ।’ नेपाली चलचित्र नेपालमा मात्र सिमित नरहेर अन्तराष्ट्रिय बजारमा पनि आफुलाई अब्बल रुपमा सावित गर्न सकेको उनले बताएका छन् ।
निर्माता पोखरेलका अनुसार भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको सिनेमा ‘द रेड सुटकेस’ले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले आधा दर्जन अन्तराष्ट्रिय अवार्ड हाँसिल गरिसकेको छ । यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकार मुख्य भूमिकामा छन् । यो चलचित्र नेपालमा गत चैत ३० गते रिलिज भएको थियो ।






