सिन्धुली । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन २०७९-८०मा जिल्लाका नौ स्थानीय तहमध्ये मरिण गाउँपालिका पहिलो भएको छ । मरिण गाउँपालिकाले ८५ दशमलब ५० अंक सहित जिल्लाको उत्कृष्ट स्थानीय तह बनेको हो ।
यस्तै दुधौली नगरपालिकाले ८२ दशमलब ७५ अंक सहित दोस्रो स्थान प्राप्त गरेको छ । गोलञ्जोर गाउँपालिका जिल्लाका नौ स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमुल्यांकनमा अन्तिम स्थानमा रहेको छ । गोलञ्जोर गाउँपालिकाले ५३ दशमलब २५ अंक प्राप्त गरेको छ ।
यस्तै घ्याङलेख गाउँपालिका ७८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । सुनकोशी गाउँपालिकाले ६७ दशमलब ७५ अंक सहित जिल्लामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा चौथो स्थानमा रहेको छ । कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाको स्कोर बराबर छ । दुवै पालिकाले ६१ दशमलव ५० अंक प्राप्त गरेका छन । यस्तै फिक्कल गाउँपालिकाले ६० दशमलब २५ अंक र तीनपाटन गाउँपालिकाले ५६ अंक प्राप्त गरेका छन ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा दशवटा सूचकमा एक सय प्रश्नहरु रहेका हुन्छन । ती सूचकलाई स्थानीय तहले आफै नम्बर दिन पाउँछन । ती सूचकमध्ये शासकीय प्रबन्ध, संगठन र प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयका सूचकहरु रहेका छन । जिल्लाका स्थानीय तहको समन्वय र सहकार्य, न्याय सम्पादन, सेवा प्रवाह,सामाजिक समावेशीकरणका सूचकमा कमजोर अंक रहेको पाइएको छ ।