काठमाडौं । जेनजी आन्दोलनमाथि काठमाडौंलगायत देशभर भएका प्रहरी दमनविरुद्ध छानबिन गर्न सरकारले समिति बनाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संयोजक नतोकी छानबिन समिति बनाउने निर्णय गरेको हो । समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । घटनालाई सरकारले अप्रत्याशित र दुखद भनेको छ ।
सरकारले आन्दोलनमा बाहिरी शक्तिको घुसपैठ भएको निष्कर्षसमेत निकालेको छ । जेनजीहरूले शान्तिपूर्ण आन्दोलन गरे पनि सो आन्दोलनमा बाहिरी शक्तिको घुसपैठ भएका कारण यति धेरै युवाले ज्यान गुमाउनुपरेको सरकारको निष्कर्ष छ ।
नियमन नभई सामाजिक सञ्जाल खुल्दैनन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालहरू सरकारको नियमनमा नआई सक्रिय पार्न नसकिने अडान दोहो¥याएका छन् ।
जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि सरकारको सहयात्री दल नेपाली कांग्रेसको संस्थागत निर्णय, सरकारमा सहभागी मन्त्रीहरूले समेत निष्क्रिय पार्ने निर्णय उल्ट्याउनुपर्ने मन्त्रिपरिषद् बैठकमै सुझाव दिएका छन् ।
तर, प्रधानमन्त्री ओलीले नेपाललाई विदेशी सामाजिक सञ्जालले हेपेको भन्दै कुनै न कुनै रूपमा नियमनमा नआई निष्क्रिय पार्ने निर्णयबाट पछि हट्न नसक्ने बैठकमै बताएको एक मन्त्रीले जानकारी दिए ।
महानगरभित्रका विद्यालय ३ दिन बन्द
काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनका कारण मंगलबारदेखि तीन दिन महानगरभित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
आन्दोलनका कारण विद्यार्थीलाई सकस भएको भन्दै महानगरले २४ देखि २६ भदौसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।