काठमाडौं । पूर्वमन्त्री एवम् एमाले सचिव योगेश भट्टराईले एमाले पुनगर्ठनको अपिल गरेका छन् । आज (बिहिबार) एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले पुनगर्ठनको लागि अपिल गरेका हुन् ।
एमाले सचिव भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनगर्ठनको अभियानमा साथ दिन अपिल गरेका छन् । उनले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन, ‘इतिहासका हरेक संकटका घुम्ती र मोडहरुमा हामी पुनर्गठित भएको सत्यलाई पनि मनन् गर्नु जरुरी छ । त्यही स्वीकारोक्तिसहितको अभियानका लागि अपिल समेत गर्दछु, ‘आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं ।’
संकटका बेला आन्दोलन र पार्टी पुनगर्ठन भएका थुप्रै उदाहरण रहेको पनि उनले बताएका छन् । जस क्रममा १९ माघको घटनापछि एमालेकै पुनगर्ठन भएको सन्दर्भ समेत उनले राखेका छन् ।
‘१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुनर्गठनको बहस चलायो,’ उनले भनेका छन्, ‘अन्ततः नेकपा एमालेको नवौं महाधिवेशनले पार्टी पुनगर्ठनको एजेन्डा स्वीकार गर्यो ।
पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्यो । पार्टी बच्यो, आन्दोलन सफल भयो ।’ पार्टी पुनर्गठनले नेतृत्वको समेत सम्मान भएको प्रसंग भट्टराईले सम्झेका छन् ।
तर कमजोरीलाई नस्वीकार्दा अरूलाई लाभ पुग्ने पनि उनले बताएका छन् । ‘लेनिनले भन्नु भएको छ, क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन । कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो,’ भट्टराईले भनेका छन् ।