सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान निर्माण गर्ने राजनीतिक दलहरूबीच आपसी एकता र आत्मसमीक्षा जरुरी रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनद्वारा सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता खड्काले देश यस अवस्थामा कसरी पुग्यो भनेर प्रत्येक राजनीतिक दलले आत्मसमीक्षा र कतिपय सन्दर्भमा आत्मालोचितसमेत हुनुपर्ने बताए ।
उपसभापति खड्काले संविधान पक्षधर दलहरूले एक आपसमा आरोप प्रत्यारोप नगरी संयमता, धैर्यता र पार्टी–पार्टीबीचको एकतालाई कायम राख्नुपर्ने धारणा राखे । ‘आम जनतामा त्रास फैलिएको छ, मुलुकलाई यो त्रासदीबाट, यो ध्वंसबाट उठाउनुपर्नेछ, अहिले कुनै प्रकारको उत्तेजना ल्याउने कुरा गर्नुहुँदैन, एक अर्कालाई दोष दिएर होइन,’ उनले भने, ‘यस्तो अवस्थामा हामी कहाँ–कहाँ चुक्यौं, आ–आफ्ना पार्टीमा छलफल गरी फेरि जनतामाझ जानुपर्नेछ ।’
उनले सभापति शेरबहादुर देउवाको स्वास्थ्य सुधार हुँदै गएकाले दसैंलगत्तै पार्टी केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाए । सो बैठकमा पार्टीका कमजोरी, पार्टी रूपान्तरण गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।
‘हाम्रा केही गल्ती थिए होलान्, हामीले सुधार्दै आएका पनि थियौं, भ्रष्टाचार नियन्त्रणका लागि हाम्रै नेताहरूमाथि छानबिन भइरहेको थियो, मुद्दाहरू नै चलिरहेकै थियो, यी सबै हुँदा पनि विध्वंस मच्चाउने काम भयो,’ उनले भने, ‘यो सामान्य अवस्था होइन, एउटा ठूलो ग्रान्ड डिजाइन हो, अब हामी एकताबद्ध भएर षड्यन्त्रकारी र विध्वंसकारीका तानाबानाविरुद्ध जनतालाई बुझाउनुपर्नेछ ।’
पूर्वउपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्काले आफूले काठमाडौंमा घरजग्गा नजोडेको प्रस्ट पारे । ‘अहिले एउटा न्यारेटिभ बनाइएको छ, चप्पल लगाएर काठमाडौं आएका नेता भनेर तर मेरो स्थिति त्यो होइन, म ५ कक्षा पढ्दादेखि सुट लगाउन थालेको हुँ, आमा जिम्बलको छोरी र बुवा मुखिया हुनुहुन्थ्यो,’ उनले भने, ‘तर, सबै नेतालाई एउटै न्यारेटिभले हेरिनुहुँदैन, मेरो काठमाडौंमा घर घडेरी केही छैन, भाइका लागि ससुरालीले बनाइदिएको घरमा बस्थें, त्यही पनि जलाइदिए ।’
विगतमा आठ–आठवटा मन्त्रालय चलाउँदासमेत आफूले कुनै गलत काम नगरेको उनले दाबी गरे । उपसभापति खड्काले जेनजी आन्दोलनमा विध्वंसकारीको घुसपैठका कारण राज्यका तीनवटै निकाय मात्र नभई प्रजातन्त्रको प्रतीक विराटनगरको कोइराला निवास, चाक्सीबारीस्थित सर्वोच्च नेता गणेशमान सिंहको निवास र राज्यले बनाइदिएको सन्त नेता जो बालुवाटारबाट निस्कँदा सुराही र बाकस लिएर फर्केका किसुनजी आश्रम खरानी बनाइएको बताए । साथै, उनले तत्काल छानबिनको काम अघि बढाएर यो स्थिति कसरी सिर्जना भयो भनेर सरकारले आमनेपाली जनतालाई प्रस्ट पार्न आग्रह गरे ।






