स्याङ्जा । जेनजी आन्दोलनका क्रममा २४ भदौमा कारागारबाट भागेका कैदीहरू धमाधम पक्राउ परिरहेका छन् । आन्दोलनको फाइदा उठाउँदै अदालतले दोषी ठहर गरेर कारागार पुगेका कैदीहरू भागेका थिए । अहिले स्याङ्जा प्रहरीले देशका विभिन्न जिल्ला कारागारबाट भागेका कैदीहरू पक्राउ गर्न थालेको हो । कास्की र केन्द्रीय कारागारबाट भागेका पाँच कैदीलाई पक्राउ गरी जिल्ला कारागार थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारीअनुसार केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंबाट भागेका नुनुमाया कार्की र विनोद दर्जी, कास्की कारागारबाट भागेका अभिषेक नेपाली, यामबहादुर रोका र विमल जिटीलाई विभिन्न मितिमा पक्राउ गरी जिल्ला कारागार स्याङ्जा पठाएको छ ।
प्रहरीले केन्द्रीय कारागार जग्गनाथदेव काठमाडौंबाट भागेका चापाकोट–४ का ३४ वर्षीय विनोद दर्जीलाई जिल्ला प्रहरी र प्रहरी चौकी बिरुवाबाट खटिएको टोलीले बिरुवा गाउँपालिका–६ धरादी भन्ने स्थानबाट पक्राउ गरेको थियो । दर्जी जबर्जस्ती करणीको मुद्दामा दोषी ठहर भएर केन्द्रीय कारागार चलान भएका थिए ।
यसैगरी, अर्का भगौडा पुतलीबजार–५ पौवेगौंडेका ६७ वर्षीया नुनुमाया कार्कीलाई सोही स्थानबाट पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दाका अभियुक्त कैदी कार्की आन्दोलनको फाइदा उठाउँदै काठमाडौंबाट भागेर आफ्नै घर आएकी थिइन् ।
स्याङ्जा भीरकोट नगरपालिका–३ का यामबहादुर रोकालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो । कर्तव्य ज्यान मुद्दामा कास्की कारागार पुगेका रोका जेनजी आन्दोलनको फाइदा उठाउँदै २४ भदौमा रातको समय फरार भएका थिए ।
त्यस्तै, कास्की कारागारबाट भागेका अर्का अभिषेक नेपालीलाई पुतलीबजार–१ कालाखोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुतलीबजार–९ का २६ वर्षीय नेपाली जबर्जस्ती करणीको मुद्दामा जेल सजाय भोग्दै आएका थिए । भीरकोट–५ का २८ वर्षीय विमल जिटीलाई वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमको संयुक्त टोलीले घरबाटै पक्राउ गरेको थियो । जिटी जबर्जस्ती करणीको मुद्दामा कास्की कारागार थुनामा थिए ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला कारागार स्याङ्जामा बुझाइएको प्रहरीले जनाएको छ । कारागारबाट भागेका कैदीहरू जहाँ पक्राउ पर्छन्, सोही जिल्लाको कारागारमा बुझाउनु भन्ने कारागार व्यवस्थापन महाशाखाको निर्देशनअनुसार प्रहरीले उनीहरूलाई स्याङ्जामा बुझाएको हो । आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीलाई प्रहरीले तुरुन्त फर्कन आह्वान गर्दै आएको छ ।
चाडबाडका बेला हुनसक्ने आपराधिक क्रियाकलापका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सादा र बर्दीसहितका प्रहरीहरू खटाएको छ । शान्ति सुरक्षा अमनचयनमा प्रहरीले आफ्नो सक्रियता बढाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
गाउँघरमा शंकास्पद व्यक्ति देखिए, भागेका कैदीहरू फेला परेमा र समाजमा उच्छृंखल गतिविधि गर्ने कोही भेटिएमा नजिकको प्रहरीलाई खबर गरिदिन प्रहरीले स्याङ्जावासीमा अनुरोध गरेको छ ।