कपिलवस्तु । भारतसँग सीमा जोडिएको कपिलवस्तु जिल्लामा पछिल्ला दुई दिनमा मात्रै करिब रु. ९ लाख बराबरको भन्सार छली गरिएका वस्तुहरू बरामद भएका छन्। चाडपर्वलाई लक्षित गरी तस्करी र अवैध कारोबार बढ्न सक्ने सम्भावनाबीच प्रहरीले निगरानी कडा बनाएको छ। असोज ८ र ९ गते विभिन्न स्थानमा गरिएको चेकजाँचमा फलफूल, काठका सामग्री, उपभोग्य वस्तु, नदीजन्य पदार्थ र निर्माण सामग्री नियन्त्रणमा लिइएको हो।

कृष्णनगर नगरपालिका–२, झण्डेनगरमा रु. ३ लाख १८ हजार बराबरको ४४ बोरा किवी फलफूल, तौलिहवा–पकडी सडकमा ३०० केजी सुन्तला अवैध रुपमा बोकेको भारतीय ट्रकसहित चालक पक्राउ, बुद्धभूमि–९, गबदहवामा अबैध नदीजन्य उत्खनन्, मायादेवी गाउँपालिका–४ मा १७५ थान काठका मन्दिर सामाग्री,
र महाराजगञ्ज–१०, हर्दौनाबाट रु. १ लाख २२ हजार बराबरका चप्पल, जुत्ता, चिनी, बर्जर पेन्ट, टायल लगायत सामग्री फेला पारिएको प्रहरीले जनाएको छ।
कुल पाँचवटा स्थानबाट बरामद सामानको ८,९०,८५० मुल्य बराबरका बरामद सबै सामग्री सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ भने चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार चाडपर्वको अवसरमा तस्करी, कालोबजारी, लागुऔषध ओसारपसार, चोरीजस्ता क्रियाकलाप नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य निकायको संयुक्त टोली परिचालन गरिएको छ। सीमाक्षेत्र, राजमार्ग र संवेदनशील स्थानमा चेकजाँच थप कडाइ गरिएको बताए ।
