काठमाडौँ । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
दसैँ सुरु भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरूको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।
काठमाडौं उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।