दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी ठुलाबडा तथा मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँघरमा घटस्थापनादेखि गरिएको पूजा आराधना आज विसर्जन गरी मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको शुभ साइत उत्तम रहेको जनाएको छ । देवी विसर्जनको साइत बिहान ९:२३ बजे तोकिएको छ ।

समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार विजया दशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले साइत नहेरी दिनभर टीका प्रसाद ग्रहण गर्न सक्नेछन् । तर, राज्य सञ्चालकका लागि भने तोकिएको साइतमै टीका लगाउनुपर्ने परम्परा रहेको छ । शास्त्रीय वचनअनुसार राज्य सञ्चालकले साइतमै टीका ग्रहण गर्दा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने भएकाले साइत दिइने गरिएको हो ।

नवदुर्गाको स्थापना गरिएको स्थानमा नित्य पूजा गरी नौ दिनसम्म गरिएको आराधनापछि आश्विन शुक्ल दशमीको दिन देवीको प्रसाद स्वरूप टीका, जमरा ग्रहण गरी दुर्गा भवानीको शक्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने व्यवस्था पनि परम्परागत रूपमा रहेको छ । टीका लगाउँदा पूर्व फर्केर लगाउनु पर्ने हुन्छ ।

विजया दशमी असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व हो । मर्यादा पुरुषोत्तम रामले रावणमाथि विजय प्राप्त गरेको वा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको स्मरणमा मनाइने यो पर्व हिन्दु सनातन धर्मावलम्बीहरूको महान् पर्वका रूपमा स्थापित छ ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो