काठमाडौं । नेपाल प्रवेश गरेका विदेशी नागरिकको गतिविधि अद्यावधिक गर्न सरकारले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली थालेको छ ।
विभिन्न मुलुकबाट भिसा लिएर नेपाल प्रवेश गरेका नागरिकका गतिविधि शंकास्पद र कानुनविपरीत पाइएपछि अध्यागमन विभागले सूचना प्रणालीमार्फत अनलाइन अनुगमन तथा अभिलेख व्यवस्थापन गर्न सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
१ जनवरी २०२६ बाट यो सूचना प्रणाली लागू हुनेगरी तयार गरिएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार ‘देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय सम्मान अभिवृद्धि, पर्यटन प्रवर्धन र वैदेशिक लगानी प्रवर्धनका लागि हुने सबै आवागमन र गतिविधि राज्यको जानकारीमा रहनुपर्ने’ मान्यतासाथ ‘अनलाइन अनुगमन प्रणाली’ व्यवस्थापन गरिएको हो ।
अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशीको प्रवेश, उपस्थिति र प्रस्थान नियमन एवं नेपाली नागरिकको प्रस्थान र आगमन व्यवस्थापन गर्नु अध्यागमन प्रशासनको प्रमुख कार्य भएकाले राष्ट्रिय सुरक्षा र सुशासन प्रवर्धन गर्न ‘अनलाइन प्रणाली’मार्फत विदेशी नागरिकको अवस्था अनुगमन कार्य सुरुवात गर्न लागिएको हो ।
नेपाल पक्ष राष्ट्र भएका धेरै अन्तर्राष्ट्रिय कानुन र प्रबन्धले सबै सदस्य राष्ट्रलाई अध्यागमनसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने दायित्व सिर्जना गरेका कारण सरकारले यस्तो तयारी गरेको विभागका प्रवक्ता ढकाल बताउ“छन् । यो व्यवस्था सुरु भएपछि विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग हुने विश्वास लिइएको छ ।
यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसाइ तथा उनीहरूका गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको विभाग प्रवक्ता ढकाल बताउँछन् । यस प्रणालीले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला निकायबीच सूचना आदानप्रदान प्रक्रिया सरल र प्रभावकारी बनाई पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने विभागको विश्वास छ ।
पहिलो चरणमा आगामी १७ पुस अर्थात् १ जनवरी २०२६ देखि उपत्यकाभित्रका तारे होटलमा अनिवार्य लागू गरिने विभागले जनाएको छ ।
त्यस्तै, दोस्रो चरणमा आगामी १७ फागुन अर्थात् १ मार्च २०२६ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्ज र क्रमशः सबै प्रकारका होटल, गेस्टहाउस र सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने विभागले जनाएको छ ।
सम्बन्धित समाचार
एसईई दिने विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड
सामाजिक सञ्जाल नियमनमा गृहमन्त्रीले थाले छलफल
प्रधानमन्त्री निरन्तर निर्वाचनलक्षित संवादमा
निवासबाटै मध्यराति दुर्गा प्रसाईं पक्राउ
सल्यानमा अवैध रुपमा संचालनमा रहेका ४ वटा जीप प्रहरी नियन्त्रणमा
मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु
तम्घास–सिमलटारी सडकः नालीमा झाडी, जोखिममा गाडी
नेसनल प्याब्सन मोरङको जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न






