धनकुटा । एमाले धनकुटाको आठौँ अधिवेशनमा उपसचिबमा पराजित मनकुमारी तितुङ तारा एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार सम्पन्न एमालेको ११ औ महाधिवेशनबाट तारा सहित धनकुटाबाट पूर्वमन्त्री राजेन्द्र कुमार राई र तारा तितुङ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
राईले समावेशी आदिवासी जनजाति तर्फ १ हजार ४ सय २४ र तितुङले समावेशी आदिवासी जनजाति महिला कोटामा १ हजार ६ सय १४ मत प्राप्त गरेका हुन्। करिब डेढ वर्ष अघि २०८१ जेठमा सम्पन्न आँठौँ जिल्ला अधिवेशनमा तितुङलाई तुलसी राईले ३९ मतले पराजित गरेकी थिइन्। राईले २ सय ६५ मत ल्याउँदा तितुङले २ सय २६ मत ल्याएकी थिइन्।
नेकपा एमालेको ११ औं महाधिवेशनबाट धनकुटाबाट निर्वाचित दुबै जना नेता अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट निर्वाचनमा भाग लिएका थिए। दुवै जना अध्यक्ष ओली पक्षमा भएपनि धनकुटामा पूर्वमन्त्री राईको भिन्दै टीम र तितुङ एमाले कोशी प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुलीको टीममा रहेकी थिइन्। त्यसो त पराजुली पनि ओली पक्षकै नेता हुन्।
११ औ महाधिवेशनको लागि तितुङ केन्द्रिय समितिको उमेद्वार बन्ने चर्चासँगै पूर्वमन्त्री राई पक्षले प्रतिनिधी बन्नबाट रोक लगाउँदा विवाद भएको थियो। विवादका बिच राई पक्षले एकलौटी मतदान गरेको भन्दै केन्द्रमा उजुरी परेपछि निर्वाचित २ जनालाई फिर्ता बोलाएर पराजुली पक्षका २ जनालाई प्रतिनिधी बनाइएको थियो। निर्वाचित भएर फिर्ता बोलाइएका २ जना सहित पराजुली र तितुङलाई केन्द्रीय कमिटिले प्रतिनिधीमा मनोनित गरेको थियो।











