काठमाडौं । नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ । बैठकमा नेपालीपक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गरेका थिए भने चिनियाँपक्षको नेतृत्व चिनियाँ अधिकारी चु जिनसाउनले गरेका थिए ।
दुई देशका अधिकारीबीच शनिबार भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ ।
नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा बैठक फलदायी भएको सहभागी अधिकारीहरूले बताएका छन् । हिमाली क्षेत्रका जनताको दैनिकी, व्यापार तथा आवतजावतलाई सहज बनाउने विषयमा दुवैपक्ष सकारात्मक देखिएका छन् ।
कामका सिलसिलामा केरुङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार र आवश्यक सहजीकरणका विषयमा नेपाली पक्षले चिनियाँ अधिकारीसमक्ष विशेष आग्रह गरेको जनाइएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायलाई थप चनाखो र समन्वयात्मक रूपमा परिचालन गर्ने समझदारी भएको छ ।
विशेषगरी रसुवा बाहिरबाट आएका नेपाली सवारीचालकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी केरुङ जान दिने विषयमा सकारात्मक छलफल भएको छ । राहदानी भएका र असल चालचलनका चालकलाई क्रमशः सहजीकरण गर्न सकिने संकेत चिनियाँपक्षबाट आएपछि नेपाली सवारीचालक तथा व्यवसायीमा उत्साह थपिएको छ ।
यसअघि जिल्लाका चालकलाई मात्र प्राथमिकता दिने चिनियाँ प्रावधानमा केही लचकता आउने संकेत देखिएसँगै व्यापार तथा ढुवानी क्षेत्र थप चलायमान बन्ने अपेक्षा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल र चीनबीच सीमा क्षेत्रमा देखिने समस्या समाधान, सुरक्षा समन्वय तथा आपसी सहकार्यलाई निरन्तरता दिन कहिले केरुङ र कहिले रसुवामा आलोपालो बैठक बस्ने प्रावधानअनुसार यस्ता बैठक नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।
सीमा क्षेत्रमा देखिएको सकारात्मक वातावरण, व्यापारिक गतिविधिमा बढ्दो सहजता तथा दुई देशबीचको मित्रवत् सम्बन्धले रसुवासहित समग्र उत्तरी नाका क्षेत्रमा नयाँ आशा र उत्साह थपिएको स्थानीय समाजसेवी मिलन तामाङले प्रतिक्रिया दिए ।
सम्बन्धित समाचार
सुख्खा रोटीबाट आत्मनिर्भरताको यात्रा
प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन
जरंखुमा कजारिया रमेश टायल्सको नयाँ शोरुम
घूस लिएको अभियोगमा मुद्दा दायर
मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन
कलाकार फेरबदलका कारण ३९ दिनमा सकियो ‘जलाकी’
मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्याउन आग्रह






