चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग

धनगढी । आफ्नो २६औँ स्थापना दिवसको अवसरमा चैतन्य पाठशालाले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै धनगढीस्थित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया छात्रावास’मा आश्रित बालबालिकाका लागि स्टेशनरी सामग्री तथा खाद्यान्न वितरण गरेको छ ।

शिक्षा र संस्कारलाई सँगसँगै अघि बढाउँदै आएको पाठशालाले समाजप्रति आफ्नो दायित्व केवल गुणस्तरीय शिक्षा प्रदान गर्नु मात्र नभई मानवीय संवेदना, सहयोग र सामाजिक सेवाको भावना विकास गर्नु पनि रहेको विश्वासका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।

स्थापना दिवसका अवसरमा विद्यालयका शिक्षक, कर्मचारी तथा कक्षा १० का विद्यार्थीहरू छात्रावास पुगेर आवश्यक शैक्षिक सामग्री र खाद्यान्न हस्तान्तरण गरेका थिए ।

यस अवसरमा विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट बचत गरेको रकम समेत सहयोगस्वरूप प्रदान गरेका थिए । कार्यक्रममा अभिभावक ज्ञानु रोकायाले पनि आर्थिक तथा सामग्री सहयोग गरेका थिए । यस्ता सहयोगात्मक कार्यक्रमले बालबालिकाको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्नुका साथै सामाजिक सद्भाव र मानवीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास विद्यालयले व्यक्त गरेको छ ।

चैतन्य पाठशालाले विगत २६ वर्षदेखि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले संस्थाको सफलताको आधार समाज, अभिभावक र विद्यार्थीहरूको विश्वास रहेको बताए । शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि विद्यालयले आफ्नो प्रमुख कर्तव्यका रूपमा लिँदै आएको र आगामी दिनमा समेत यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

‘चैतन्य पाठशालाबाट निरन्तर प्राप्त सहयोगले छात्रावासका बालबालिकाको दैनिक आवश्यकताको पूर्तिमा सहयोग पुगेको छ। यसले हामीलाई समाजले साथ दिएको अनुभूति गराएको छ,’ आमाको माया छात्रावासका प्रमुख सुवास तामाङले भने ।

स्थापना दिवसको अवसरमा गरिएको यस सहयोगात्मक कार्यक्रमले चैतन्य पाठशालाको सामाजिक प्रतिबद्धता, मानवीय संवेदना र सेवामूलक सोचलाई पुनः एकपटक उजागर गरेको छ । विद्यालयले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा समाजमुखी गतिविधिलाई निरन्तरता दिँदै शिक्षा र संस्कारको यात्रालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

नेविसंघको अध्यक्षमा करुणा कटुवाल