खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा निर्माणाधीन ग्याबिन पर्खाल (वाल) दोस्रो पटक बनिनसक्दै भासिएको छ । उक्त पहिरोबका कारण आसपासका छ घरपरिवार पहिरोको जोखिममा परेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित माम्खामा सडक डिभिजन कार्यालय हर्कपुरको ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तरगत दोभान निर्माण सेवा धनकुटाले निर्माण गर्दै आएको ग्याबिन वाल यही जेठ १५ गतेदेखि भासिन थालेको स्थानीयले जानकारी दिएका छन् ।
तारजाली भर्दै सडकसम्म अग्लो पर्खाल निकाली माथि माटो फिलिङ गर्ने काम सक्नुअगावै पर्खालको बीच भाग भासिएको ठेकेदार कम्पनीले जनाएको छ । पर्खाल भासिएपछि भीमराज राई, देबेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई र नरबहादुर राईका घर पहिरोको जोखिममा परेका छन् भने मुनिका मकैबारीसमेत चर्किएको छ । पर्खाल भासिनुको कारण’bout स्थानीयबीच मतभेद छ । कतिपयले ठेकेदारले बलियो जग नभेट्दै वाल उठाएको आरोप लगाएका छन् भने कतिपयले कमजोर भू–बनोटलाई कारण देखाएका छन् ।
घटनापछि सडक डिभिजन हर्कपुरका सिनियर डिभिजन इन्जिनियर सविन जोशी नेतृत्वको प्राविधिक टोली निरीक्षणका लागि माम्खा पुगेको थियो । इन्जिनियर जोशीले कमजोर भू–बनोट नै मुख्य कारण देखिएको बताउँदै यो मामिला अलि फरक प्रकृतिको भएकाले सम्बन्धित विज्ञसँग सल्लाह गरिरहेको जानकारी दिए । “ठेकेदारको त्रुटी देखिएको छैन । दीर्घकालीन समाधान के हुन्छ, विज्ञसँग सल्लाहपछि मात्रै काम अगाडि बढाउँछौँ,” उनले भने ।
प्राविधिक टोलीको प्रतिवेदन आउनुअगावै निर्माणकार्य अगाडि नबढाउने ठेकेदार कम्पनीले स्पष्ट पारेको छ । वि.सं. २०८२ मंसिर ४ गते सम्झौता भएको यो काम वैशाख ६ गतेसम्म सक्ने भनिएकोमा असार १५ गतेसम्म म्याद थपिएको छ । दिक्तेल–चखेवा सडकखण्डका विभिन्न स्थानमा ग्याबिन वाल र प्लम वाललगायतका निर्माणका लागि दुई करोड ७९ लाख ७७ हजार ९१२ मा ठेक्का लगाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।






