काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा आरोहीलाई सम्मान गरिएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिकाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरेको हो । मनास्लु हिमालको सफल आरोहण गर्नेमा फुन्जो जाङ्मु लामा, दिकी ल्हामु लामा, पूर्णिमा श्रेष्ठ, पूर्णबहादुर गुरुङ, युक्त गुरुङ, हरिबहादुर गुरुङ, रमेश गुरुङ, नवराज गुरुङ, पाल्सङ रिम्पोछे, सेदार रिन्पोछे, लामा जिग्मे, नेपाल पर्वतारोहण सङ्घ (एनएमए), राष्ट्रिय प्रकृति संरक्षण कोष, मनास्लु संरक्षण क्षेत्र आयोजनालगायत रहेका छन्।
कार्यक्रममा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले गोरखाबाट मनास्लु हिमालको सफल आरोहण गरेका व्यक्ति र विभिन्न संस्थालाई सम्मान गरिएको जानकारी दिए। मनास्लु हिमालमा पहिलोपटक सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले पाइला टेकेका थिए ।
यस्तै, सन् १९७३ अप्रिल २२ तारिखमा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए। पहिलोपटक मनास्लुको आरोहण गरेको सम्झनामा मनास्लु दिवस मनाउन थालिएको हो । चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाले हालसम्म मनास्लु हिमालमा तीन हजार ७४२ स्वदेशी तथा विदेशी आरोहीले आरोहण गरेको बताए।
विश्वको आठौँ र नेपालको सातौँ हिमालका रुपमा रहेको मनास्लुमा चढ्नका लागि इच्छाशक्ति तथा शाहस आवश्यक रहेको अध्यक्ष लामाले बताए। मनास्लु हिमाल आरोहण गर्न थालेको ७० वर्ष पुगेको अवसरमा यहि वर्षको मे ९ तारिखमा चुमनुब्रीमा कार्यक्रम समेत आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।
चुमनुब्री गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण समेत गरिएको थियो । कार्यक्रममा प्रथम आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
काठमाडौंमा आयोजित आरोही सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले एक दशकको अवधिमा गोरखाले पर्वतीय पर्यटनको क्षेत्रमा ठुलो फड्को मारेको बताए।
विश्वको सर्वोच्च शिखर सगरमाथा छिटो चढ्ने महिला आरोहीको कीर्तिमान बनाएकी फुन्जो शेर्पाले जलवायु परिवर्तनको असर नेपालका हिमालमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मनास्लु आरोही युक्त गुरुङले मनास्लु हिमालको सरसफाईमा गाउँपालिकाले विशेष जोड दिनुपर्ने बताए।
सम्बन्धित समाचार
जेन-जी आन्दोलन : प्रहरी र सशस्त्र आईजीलाई कारबाही गर्न आयोगको सिफारिस
श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड बजेट
ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला
प्रतिनिधिसभा बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख कारबाही गर्ने तयारी
रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ : रवि लामिछाने
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
सुन्दरहरैँचामा महिलाहरुको सक्रियताले जोगिँदै नौमती बाजा






