ताप्लेजुङ । जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो ।
महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवले अलैँची खेतीको प्रवद्र्धन, उत्पादन वृद्धि तथा बजार विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फलको प्रदर्शनी, अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी, उत्कृष्ट तथा कमजोर अलैँची बगानको अवलोकन र पहिचानलगायत कार्यक्रम समावेश गरिएका छन् । यसका साथै अलैँची खेती तथा प्रवद्र्धनसँग सम्बन्धित खुला कविता प्रतियोगिता, लोकदोहोरी तथा अन्य सांस्कृतिक कार्यक्रम हुने बताइएको छ ।
दुईदिने महोत्सवमा आधुनिक अलैँची खेतीसम्बन्धी कार्यशाला, क्रेता–बिक्रेताबीच अन्तरक्रिया तथा अलैँचीको उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा व्यापक छलफल हुने कार्यक्रम तय गरिएको छ । सङ्घ तथा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख एवम् अलैँची विज्ञहरूको सहभागितामा आधुनिक खेती प्रविधि र बजार विस्तारका सम्भावना’bout विशेष छलफल गरिनेछ ।
महोत्सवका अवसरमा अलैँची खेतीमा उल्लेखनीय सफलता हासिल गरेका किसानलाई सम्मानसमेत गरिने आयोजकले जनाएको छ ।
हिमाली जिल्ला ताप्लेजुङ नेपालकै प्रमुख अलैँची उत्पादन क्षेत्र मानिन्छ । यहाँ उत्पादन हुने उच्च गुणस्तरको अलैँचीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा विशेष पहिचान बनाएको छ । कृषक, व्यवसायी र सरोकारवालाबीच अनुभव आदान–प्रदानसहित अलैँची खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
झापामा हुरी र वर्षाले केराखेती नष्ट
खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत
खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु
कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान
पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
वृद्ध किसानका दुःख सातामा सातैदिन बाँदरको चौकीदारी






