नियमित सरसफाइ, फोहोर व्यवस्थापन र जनसहभागिताले धनगढी सफा र व्यवस्थित बन्दै

धनगढी । नियमित सरसफाइ, प्रभावकारी फोहोर व्यवस्थापन र स्थानीयवासीको सक्रिय सहभागिताका कारण धनगढी उपमहानगरपालिका पछिल्ला वर्षहरूमा थप सफा, व्यवस्थित र आकर्षक बन्दै गएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनपछि स्वतन्त्र उम्मेदवार गोपाल हमाल नगर प्रमुखमा निर्वाचित भएपछि ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको थियो । अभियानअन्तर्गत प्रत्येक टोल र समुदायमा सरसफाइ समिति गठन गरी नियमित रूपमा सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यसको प्रभावस्वरूप धनगढी बजार क्षेत्रदेखि ग्रामीण बस्तीहरूसम्म विगतको तुलनामा बढी सफा, व्यवस्थित र आकर्षक देखिन थालेका छन् । सार्वजनिक स्थल, मुख्य सडक र खुला क्षेत्रको नियमित सरसफाइलाई निरन्तरता दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

हालै देशका विभिन्न प्रमुख सहरको भ्रमण गरी फर्किएका एक स्थानीयले सरसफाइका दृष्टिले धनगढी अन्य धेरै सहरभन्दा उत्कृष्ट देखिएको बताए । उनका अनुसार अभियानले नगरको समग्र स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको छ ।

उपमहानगरपालिकाले स्वच्छ, सुन्दर र व्यवस्थित नगर निर्माण गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ । स्थानीयवासीको सहभागिता र नगरपालिकाको सक्रियताले धनगढीलाई सरसफाइका क्षेत्रमा उदाहरणीय सहरका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको सरोकारवालाहरूको भनाइ छ ।

धनगढी–१ का शिवराज अवस्थीले सबै नगरवासीलाई अभियानमा सहभागी हुन आग्रह गर्दै भने, ‘यो हाम्रो आफ्नै अभियान हो । ‘सरसफाइ मेरो जिम्मेवारी’ भन्ने भावना सबैमा विकास हुनुपर्छ ।’

धनगढी उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख अशोक अवस्थीका अनुसार अभियान सुरु भएयता हजारौँ नगरवासी प्रत्यक्ष रूपमा सहभागी भइसकेका छन् । प्रत्येक वडामा साप्ताहिक सरसफाइ कार्यक्रम सञ्चालन हुनुका साथै फोहोरमैला वर्गीकरणसम्बन्धी तालिम पनि स्थानीयलाई प्रदान गरिँदै आएको छ ।

उनका अनुसार विद्यालय, टोलबस्ती तथा सार्वजनिक स्थानमा सघन रूपमा सरसफाइ अभियान सञ्चालन भइरहेको छ । ‘हरेक महिनामा प्रत्येक वडामा सरसफाइ सप्ताह मनाइन्छ । वडा तथा टोलस्तरीय समिति गठन गरेर अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाइएको छ,’ अवस्थीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई