सुन्दरहरैंचा (मोरङ) । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गछियाबजारले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आइतबार गछिया युवा समाजलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको छ। स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरूको प्रतिभा विकास र स्वस्थ समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा सामाजिक व्यक्तित्व देवराज तामाङले खेलकुद युवाहरूलाई अनुशासित, जिम्मेवार र सक्षम नागरिक बनाउने महत्वपूर्ण माध्यम भएकाले यस्ता कार्यक्रम समाजका लागि उदाहरणीय हुने बताए। उनले निजी तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै समुदायसँग सहकार्य गर्नु सकारात्मक पक्ष भएको उल्लेख गरे।
कार्यक्रममा बोल्दै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका कोशी प्रदेश प्रमुख बेद प्रसाद देवकोटाले संस्था वित्तीय सेवा प्रवाहमा मात्र सीमित नरही शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक क्षेत्रमा समेत निरन्तर योगदान दिँदै आएको बताए। समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले गछिया युवा समाजलाई खेलकुद सामग्री उपलब्ध गराइएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।
त्यसैगरी गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले डिप्रोक्स लघुवित्तप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले स्थानीय युवाहरूलाई नियमित खेल अभ्यास तथा प्रतियोगितामा सहभागी हुन थप हौसला मिल्ने बताए। उनले युवाहरूलाई कुलतबाट टाढा राखी खेलकुदमार्फत सकारात्मक समाज निर्माण गर्ने अभियानमा यस सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा गछिया युवा समाजलाई ८ वटा फुटबल म्याच बल, २० वटा कोन, ११ वटा विप्स, २ वटा एगिलिटी ल्याडर, २ वटा चेन्जिङ वोड, ४ वटा कर्नर फ्याक, २० वटा स्पेस मार्कर कोन, २ वटा सिठ्ठी, २ वटा मिनी मार्कर कोन तथा १० वटा स्पीड हर्डस हस्तान्तरण गरिएको थियो। यी सामग्रीले स्थानीय खेलाडीहरूको नियमित प्रशिक्षण तथा प्रतियोगिताको तयारीलाई सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा डिप्रोक्स लघुवित्तका कोशी प्रदेश अनुसन्धान अधिकृत सूर्यबहादुर बिष्ट, गछिया शाखाका शाखा प्रबन्धक सुजन सेर्मा लगायत संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी गछिया युवा समाजका सल्लाहकार प्रलाद थोप्रा लिम्बु, सुमन याक्खा सहित समाजका पदाधिकारी, सदस्य तथा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर वित्तीय सेवा विस्तारसँगै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सुन्दरहरैंचा–३ गछियास्थित शाखामार्फत गरिएको यस सहयोगले स्थानीय खेलकुद गतिविधिको विकास, युवाको क्षमता अभिवृद्धि तथा समुदायमा खेल संस्कृतिको प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।
सम्बन्धित समाचार
विद्यार्थीसँग दही-चिउरा खाँदै स्वतन्त्र नागरिक समाजले मनायो असार १५
धनकुटामा एकै दिन ७९५ किलोग्राम गाँजा बरामद, दुई जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला
साजिलाल माविको विव्यस गठनमा राजनीतिक गन्ध
बाल संरक्षणमा उदाहरणीय काम गर्दै सीपीसीयस बेलबारी
सङ्खुवासभाको चैनपुरमा ८ सय ६२ जग्गाधनीलाई लालपुर्जा वितरण
पौवादुङमा ५ देखि १३ वर्षका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा






