चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि किमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ ।
अस्पतालमा दैनिक करिव ३०० बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिव २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या किमोका लागि छुट्याइएको छ । केही बिरामीलाई किमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही शय्यामा अर्को बिरामीलाई किमोदिने गरिएको छ ।
अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार तोकिएका समयमा नै किमो दिँदा प्रभावकारी हुन्छ । उनले भने, “बिरामीको उच्च चापका कारण समयमा किमो दिन सकिएको छैन, यसले उपचारमा प्रभावकारिता घट्छ ।”
बिरामीले पाँच दिनसम्म पालो कुर्नुपरेको उनी बताउँछन् । उनले भने, “प्रादेशिक अस्पतालहरूमा किमो दिने व्यवस्था गर्नुपर्छ, नभए यहाँको अस्पतालमा शय्या र जनशक्ति थप्नुपर्छ ।” बिरामीको चाप बढ्दै जाने र अस्पतालले शय्या र जनशक्ति नथप्दा चाहेर पनि आएका सबै बिरामीलाई किमो दिन नसकिएको उनी बताउँछन् ।
अस्पतालले केमो चढाएको एक पटकको ५०० शुल्क लिने गरेको छ । केमो खरिद अस्पतालको फार्मेसीमा छुट्टै गर्नुपर्छ । बिरामीको रोगको प्रकृति र औषधि उत्पादक कम्पनीअनुसार केमोको मूल्य १०० देखि लाखौँसम्म पर्ने उनको भनाइ छ ।
अस्पतालमा बिरामीलाई सामान्यतया दुई हप्ताको फरकमा १२ पटक र तीन हप्ताको फरकमा छपटकसम्म किमो दिने गरिन्छ । कतिपय बिरामीको तीन वर्षसम्म पनि किमो लगाउनुपर्ने हुन्छ । केमो लगाउनका लागि नेपालभर र भारतीय सीमा क्षेत्रबाट पनि यहाँ बिरामी आउने गर्दछन् । लामो समय पालो कुर्नु परेपछि यहाँ आएका बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेका छन् ।
चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी क्यान्सर अस्पतालकै शुल्कमा किमोलगायतका क्यान्सर उपचार सेवा दिने गरेको छ । बाहिरी जिल्ला जानुभन्दा भरतपुर आएका बिरामी यस इन्स्टिच्युटमा जाने गरेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अन्य अस्पतालमा लामो पालो कुर्नुपरेका बिरामीसमेत यस इन्स्टिच्युटमा आउने गरेको बताए । उनले भने, “हामीले सरकारी अस्पतालको शुल्कमा सेवा प्रवाह गर्ने कुरा धेरैलाई थाहा नभएकाले थाहा पाउनेहरू आउनुभएको छ ।”
इन्स्टिच्युटले पछिल्लो समय बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ । जिल्लाका केही निजी अस्पतालहरूले मापदण्ड पूरा नगरी किमो दिने गरेको गुनासो छ । केही बिरामी यहाँ सरकारीमा पालो नपाएपछि भारत, काठमाडौंलगायतका ठाउँमा समेत जाने गरेका बताइएको छ ।
सम्बन्धित समाचार
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
आँखा अस्पतालमा बिरामी बढे
हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने
अत्यावश्यक औषधि उत्पादनको समझदारी
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह






