सुन्दरहरैँचा(मोरङ) । मोरङको सुन्दरहरैँचा–३ स्थित गछिया युवा समाज ले आयोजना गर्न लागेको ‘दोस्रो गछिया गोल्डकप–२०८३’ को तयारीलाई औपचारिक रूपमा अघि बढाएको छ। प्रतियोगिताको प्रचारप्रसार तथा शुभारम्भको संकेतस्वरूप संस्थाले ‘Coming Soon’ लेखिएको प्रतियोगिताको ब्यानर मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ धाम पुगेर सार्वजनिक गरेको हो।
कोरोला नाकामा पनि फहराइयो गछिया युवा समाजको झण्डा
गछिया युवा समाजका अध्यक्ष सरोज दाहालका अनुसार गत वर्ष सम्पन्न पहिलो संस्करणको गछिया गोल्डकप को ब्यानर ताप्लेजुङस्थित पाथिभरा माताको मन्दिर मा पुगेर सार्वजनिक गरिएको थियो। यस वर्ष दोस्रो संस्करणलाई अझ विशेष बनाउने उद्देश्यका साथ मुक्तिनाथ धामबाट ब्यानर सार्वजनिक गरिएको उनले बताए।
अध्यक्ष दाहालले यसपटकको प्रतियोगिता अघिल्लो संस्करणभन्दा थप व्यवस्थित, परिष्कृत र आकर्षक ढंगले सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार प्रतियोगिताको पुरस्कार राशि पनि गत वर्षको तुलनामा वृद्धि गरिने छ। प्रतियोगिताको मिति, सहभागी टोली, पुरस्कार विवरण तथा अन्य कार्यक्रमहरू भने केही दिनभित्र सार्वजनिक गरिने तयारी रहेको उनले बताए।
मुक्तिनाथ भ्रमणका क्रममा गछिया युवा समाजको टोलीले नेपाल–चीन सीमास्थित कोरोला नाका पुगेर समाजको झण्डासमेत फहराएको अध्यक्ष दाहालले जानकारी दिए। यसले खेलकुदमार्फत गछिया युवा समाजको पहिचानलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने सन्देश दिएको उनको भनाइ छ।
स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित, स्वस्थ र प्रतिस्पर्धी वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना हुन लागेको दोस्रो गछिया गोल्डकपप्रति अहिलेदेखि नै खेलप्रेमी तथा स्थानीयवासीमा उत्साह बढ्न थालेको छ। आयोजकले यस संस्करणलाई अझ भव्य, व्यवस्थित र स्मरणीय बनाउने लक्ष्यसहित आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ।












