काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आह्वानमा देशभरका म्यानपावर कम्पनीहरूले आजदेखि आफ्ना सेवा तथा कारोबार बन्द गरेका छन् । सरकारले व्यवसायीले अघि सारेका १५ बुँदे माग सम्बोधन नगरेको भन्दै पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन, अन्तर्वार्ता, भिसा प्रमाणीकरणलगायतका वैदेशिक रोजगारीसम्बन्धी प्रक्रिया रोकिएको हो ।
म्यानपावर कम्पनीहरूको सेवा बन्द भएपछि विदेश जाने तयारीमा रहेका हजारौँ नेपाली श्रमिक प्रभावित भएका छन्। भिसा र श्रम स्वीकृति प्राप्त गरिसकेका कतिपय श्रमिकसमेत निर्धारित समयमा विदेश जान नपाउने अवस्था सिर्जना भएको छ।
बैदेशिक रोजगार व्यवसायी सङ्घका अनुसार आइतबार राति १२ बजेसम्म विमानस्थलसम्बन्धी प्रक्रिया पूरा गरिसकेका श्रमिकबाहेक आजदेखि तय भएका उडानसमेत प्रभावित हुनेछन् । यसले विदेश जानका लागि टिकट काटिसकेका र आवश्यक तयारी पूरा गरेका श्रमिकमा थप अन्योल सिर्जना गरेको छ । आज (सोमबार) बिहान ७ बजे देखि मन्त्रालयमा बार्ता भइरहेको छ ।
व्यवसायीहरूले भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको विषयमा ७७१ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने माग गरेका छन् । त्यस्तै, १० हजार रुपैयाँ सेवा शुल्कको व्यवस्था पुनरावलोकन गरी सेवा शुल्क एक महिनाको तलब बराबर कायम गर्नुपर्ने, वैदेशिक रोजगार शुल्कमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाउनुपर्ने तथा हवाई टिकटको कालोबजारी नियन्त्रण गर्नुपर्ने माग उनीहरूको छ ।
आन्दोलन लम्बिँदै गएमा विदेश जान ऋणधन जुटाइसकेका हजारौँ श्रमिकको रोजगारी, आर्थिक लगानी र पारिवारिक योजनामा प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ। लामो समयसम्म प्रक्रिया अवरुद्ध भएमा भिसाको म्याद, रोजगार सम्झौता र विदेशस्थित रोजगारदातासँगको समन्वयमा समेत समस्या आउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिकको अन्योल अन्त्य गर्न सरकार र व्यवसायीबीच तत्काल वार्ता र सहमति आवश्यक देखिएको छ । अब दुवै पक्षबीच हुने छलफलले आन्दोलनको निकास र वैदेशिक रोजगारीको प्रक्रिया कहिलेबाट नियमित हुन्छ भन्ने निर्धारण गर्नेछ।
सम्बन्धित समाचार
सुन्तला रङ लगाइएका क्षेत्रका बासिन्दालाई तीन दिन सजग रहन मौसम विभागको सुझाव
यी हुन् केयुको उपकुलपतिका लागि छानिएका १० आवेदक
दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
३ वर्षदेखि अवैध रूपमा रकम विदेश लैजाँदै एनसेल
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन
पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला
सरकारले सार्वजनिक गरेको एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?






