काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गर्दै बाहिरिएकी छन् ।
उनी कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको र थप प्रश्न सोध्न नपाएको भन्दै बैठककक्षबाट बाहिरिएकी हुन् ।
सांसद तामाङले ३७ दिनअघि कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले गम्भीरता नदेखाएको भन्दै उभिएरै विरोध जनाएकी थिइन् । उनले अर्थ मन्त्रालयले बजेट छुट्याए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाएका कारण प्रक्रिया रोकिएको दाबी गरिन् ।
‘परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आस मारिसके । सरकारले कि यिनीहरू नेपाली नागरिक होइनन् भन्नुपर्यो, नत्र जवाफ नआउञ्जेल म उभिइरहन्छु,’ उनले भनिन् ।
यस विषयमा सांसद तामाङले अघिल्लो संसद बैठकमा ध्यानाकर्षण गराएकी थिइन् । उनको त्यो भनाइपछि सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा जवाफ दिन परराष्ट्र मन्त्रालयलाई ३ दिनभित्र जवाफ दिन रुलिङ जारी गरेका थिए ।
मन्त्रीको जवाफपछि सांसद तामाङले चित्त नबुझेको भन्दै पुनः प्रश्न सोध्न खोजेकी थिइन् । तर, सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीले दिएको जवाफमा पुनः प्रश्न सोध्ने व्यवस्था नरहेको जानकारी गराउँदै उनलाई आसन ग्रहण गर्न आग्रह गरे ।
सभामुखले संसदीय मर्यादा पालना गर्न पटक–पटक आग्रह गरे पनि सांसद तामाङले आफ्नो असन्तुष्टि कायमै राखिन् र विरोधस्वरूप बैठकबाट बाहिरिइन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा लिङ्देनलाई
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार






