कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै ३१० संक्रमित

पोखरा । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार गण्डकीमा गएको २४ घण्टामा ९ सय ३ पिसिआर परीक्षणमा ४ सय २९ संक्रमित भेटिएका हुन् । प्रदेशका अन्य जिल्लाका तुलनामा कास्कीमा सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । यो सहित कास्कीमा हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७८ जना पुगेको छ । कास्कीमा हालसम्म १ सय ३१ जनाको मृत्यु भएको छ ।

गण्डकीमा भने कुल संक्रमित संख्या १९ हजार ८ सय ५३ पुगेको छ । तीमध्ये १७ हजार ७२ निको भएका छन् भने २ सय ३५ को ज्यान गएको छ । गएको २४ घण्टामा ६३ जना निको हुँदा ३ जनाले ज्यान गुमाए । हाल प्रदेशभर २ हजार ३ सय ५४ जना होम आइसोलेसनमा बसेका छन् ।

गएको २४ घण्टामा नवलपुरमा ५१, स्याङ्जामा ४, बागलुङ ३३, तनहुँ १६, लमजुङ ८, मुस्ताङ ४ पर्वत र म्याग्दीमा १÷१ जना संक्रमित भेटिएका हुन् ।

आइसियुमा ३४, भेन्टिलेटरमा ३ र एचडीयुमा १४ जनाको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताए ।

कास्कीपछि सबैभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला हो, बागलुङ । बागलुङमा हाल २ सय २२ सक्रिय संक्रमित छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा दिनानुदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा कडाइ गरेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार पोखराको बजार सुनसान भयो । सडकमा पातलो संख्यामा मात्रै सवारीसाधन गुडेका थिए । मानिसहरु पनि बाहिर खासै निस्केका छैनन् ।

प्रशासनले गत वैशाख १५ देखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरेकोमा कोरोनाको महामारी बढ्दै गएपछि कडाइसहित अवधि थपेको हो । वैशाख २१ देखि ३१ सम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइने छैन भने छुट प्रदान गरिएका बाहेक निजी तथा सार्वजनिक यातायातका साधन चल्न रोक लगाइएको छ ।

दैनिक उपभोग्य बस्तुहरुका पसल बिहान ५ देखि ९ बजेसम्ममात्रै संचालन गर्न सकिने भएपछि दिउँसो ती पसल सबै बन्द छन् । बैंक तथा वित्तीय संस्थाहरु एक चौथाइ मात्र राखेर संचालन गरिएको छ ।

गाडीमा जोरबिजोर प्रणाली हटाइएको छ । मठ मन्दिरहरुमा नित्य पूजामात्र गर्न सकिने भए पनि अन्य कार्य गर्न पाइने छैन । बिहान ५ देखि ९ बजेसम्म डिपार्टमेन्ट स्टोर्सहरुको हकमा खाद्यान्न सामान बिक्री गर्न पाइनेछ ।

ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्ट जस्ता निर्माण सामग्री बोक्ने सवारीसाधन दिउँसो १ देखि साँझ ५ बजेसम्म संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 484 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३