सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने ,जीउ दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जिल्ला अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पताल मलंगवाका डाक्टर श्रीप्रताप साहले जानकारी दिए ।
‘कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिका बिरामी दैनिक ६०÷७० जना आउने गरेका छन्, सबैमा कोभिड भएको होइन्न, लक्षण चाहि मिल्दोजुल्दो छ ।’ साहले भने ‘ अस्पतालमा अहिलेसम्म गरिएको पिसिआर परीक्षणमा १४ जना बिरामीमा कोरोना संक्रमण देखिएको छ,’ अस्पतालमा बिरामीको संख्या दिनदिनै बढ्दै गएकाले जोखिम बढेको डा साहको भनाई छ ।
त्यसैगरी बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप निकै बढेको जनस्वास्थ्य अधिकृत सत्यनारायण यादवले बताए । ‘भाइरल ज्वरो, रुघाखोकीका बिरामी निकै बढेको छ,हिजो सामान्य स्वास्थ्य परीक्षण गरिएको ३८ जना बिरामीमध्य १६ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।’ उनले भने ‘समुदाय स्तरमा नै नयाँ कोरोनाको लहर फैलिएको अनुमान गर्न सकिन्छ ,पिसिआर परीक्षण सहज नहुँदा नागरिक धेरै समस्या खेप्नु परेको छ, अब सबै पालिकाले पिसिआर परीक्षणको दर बढाउनु पर्छ ।’
ज्वरो आएका बिरारीले बाहिर गएर उपचार गराउँदा कोरोना देखिने डरले पनि बिना परीक्षण गाउँघरमा नै उपचार गर्ने गरेका छन्
बलरा नगरपालिका –३ मिर्जापुरका एकै गाँउका ७० जना भन्दा बढीमा उच्च ज्वरो आएको छ । सदरमुकाम मलंगवादेखि ४० किलोमिटर पश्चिम भारतसँग सीमा जोडिएको दुर्गम गाउँमा मानिस बिरामी पर्न थालेपछि त्यहाँका स्थानीय थप त्रसित भएका छन् । एकै गाँउमा उच्च ज्वरोका बिरामी धेरै भएपछि स्थानीय उपचार पाउन नसकेको बलरा नगरपालिका –३ का वडाध्यक्ष शशिकान्त मिश्रले जानकारी दिए । बिरामीहरुमा लगातार दुई सातासम्म उच्च ज्वरो र टाइफाइडको लक्षण जस्तो देखिको र अधिकाँस बिरामीको गाउँघरमा रहेका सामान्य स्वास्थ्यकर्मीहरुले उपचार गर्ने गरेको पनि मिश्रले जानकारी दिए ।
ज्वरो आएका बिरारीले बाहिर गएर उपचार गराउँदा कोरोना देखिने डरले पनि बिना परीक्षण गाउँघरमा नै उपचार गर्ने गरेका छन् । एक सातासम्म लगातार ज्वरो, रुघाखोकी र टाउको दुखाइ भएका बिरामी समेत बाहिर नगएर घरमै उपचार गराउने गरेका छन् । उपचारको लागि बाहिर गएकाले समेत राम्रोसँग उपचार नपाएकाले घरमै बसेर उपचार गरेको बरहथवा नगरपालिका–९ का ३२ वर्षीय पुरुषले बताए ।
सामान्य लक्षण देखिँदा गाउँघरमै उपचार गर्ने र अवस्था गम्भीर आएपछि मात्र अस्पताल जाने गर्दा कोभिडको जोखिम बढ्ने जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जीव सिंहले बताउछन् । त्यसैगरी कोरोनाको जोखिम उच्च देखिएको भन्दै हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाले एक साताको लागि बजार कार्यालय बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो पटक सुरु भएको कोरोना भाईरसको कारण जिल्लामा अहिलेसम्म चार जनाको ज्यान गएको छ । कोरोना संक्रमित हुने दर बढेपछि स्थानीय पालिकाहरुले क्वारेन्टीन ,आईसोलेसन र अक्सिजनको जोहो गर्न थालेका छन् । दोस्रोपटक कोरोनाको नयाँ लहर सुरु भएसँगै अस्पताल तथा निजी क्लिनिकहरु बिरामी भरिएका छन् । कोभिडको संक्रमण बढेपनि भारतबाट लुकेर आउने र गाउँघरमा सावधानीका अपनाउनेहरु निकै कम देखिएका छन्।






