काठमाडौं । अमेरिकामा रहेका नेपाली र नेपाली भाषी भुटानीबीच भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को फाईनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जित्न सफल भएकी छिन् । उनले, ताजसँगै १० हजार डलर र टोयोटा र्याभ फोर गाडी प्राप्त गरेकी छिन् ।
यस्तै, ‘मेरो भ्वाइस कप’को उपाधि भने प्रवीण बर्देवाले जितेका छन् । उनले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन् । मेरो डान्स कपका विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँइले र मेरो भ्वाइस कपका विजेतालाई इन्ट्रा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका छन् ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा कोलम्बस शहरमा आयोजना भएको फाईनल प्रतियोगिता भएको हो । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको थियो । नेपालमा सेमिफाइनल सकेर दुबै रियालिटी शोको यूनिट अमेरिका फर्किएको थियो ।
‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छिन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छिन् । यसैगरी ‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि सितल शर्माले जितेकी छिन् ।
दर्शकहरुको भोटिङका आधारमा विजेता छनोट गरिएको आयोजक पक्षले जनाएको छ । यो दुबै प्रतियोगिताको फाईनलमा अग्रज संगीतकार शम्भुजित बास्कोटा, गायकहरु नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाल लगायतले आफ्नो प्स्तुति दिएर दर्शकको मन जिते । यस्तै साराङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारी सहितका अभिनेता अभिनेत्रीले पनि फाईनलमा नृत्य प्रस्तुत गरे ।






