सरकारले सीमानाकाबाट आवागमन रोक्न र घरबाहिर ननिस्कनका लागि लकडाउनको अवधि २५ चैतसम्म पु¥याएको छ । योसँगै कोरोना भाइरस संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको लागि २५ लाख रुपैयाँको बिमाको व्यवस्था गरेको छ । यो एकदमै सकारात्मक पक्ष हो । यसलाई अझ बढाउनुपर्ने आवश्यकता थियो । आमनागरिकको जीवनरक्षाका लागि यो अत्यावश्यक विषय हो । योभन्दा अघि ११ देखि १८ चैतसम्म पहिलोपटक लकडाउन गरिएको थियो । त्यतिखेर आमनागरिकको जीवनरक्षाका लागि लकडाउनबाहेक अर्को विकल्प थिएन । अहिले पनि छैन । कोरोनाको संक्रमण फैलन नदिन लकडाउन गर्नैपर्छ । जसरी सरकारले अन्तर्राष्ट्रिय उडानमा ३ वैशाखसम्म प्रतिबन्ध लगाएको छ, त्यसैगरी उक्त अवधिसम्म लगडाउन गर्दा अझ बढी उपयुक्त हुने देखिन्छ ।
अहिले विश्वका करिब २ सयभन्दा बढी राष्ट्र कोरोना भाइरसबाट संक्रमित रहेका छन् । यो लेख तयार पार्दासम्म कोरोना भाइरसको उद्गमस्थल चीनमा ८१ हजार संक्रमित र ३ हजार ३ सयको मृत्युपछि नियन्त्रणमा आइसकेको त्यहाँको सरकारले बताएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमा ३७ हजार ८ सय, संक्रमित ७ लाख ८५ हजार, निको भएर घर फर्केकाको संख्या १ लाख ६५ हजार रहेको छ । अमेरिकामा सबैभन्दा बढी संक्रमितको अवस्थामा छ भने त्यसपछि इटाली र स्पेन रहेका छन् । ती मुलुकमा कोरोना संक्रमणको अवस्था बढ्दो छ ।
दक्षिण एसियामा भने अन्य देशको अवस्था हेरेर समयमै लकडाउनका गरेकाले कोरोना फैलिनेक्रम केही कम छ । सावधानीका उपाय अपनाउँदै जाने हो भने यसबाट सुरक्षित रहन सकिन्छ भन्ने कुरालाई यसले पनि पुष्टि गर्दछ । भारतमा १ अर्ब ३१ करोड जनसंख्या रहेको छ । कोरोना भाइरस देखिएपछि भारतले ३ साताको लकडाउन गरेको छ । भारतसँग खुला सिमाना रहेको नेपालमा करिब ३ करोड जनसंख्या रहेको छ । नेपालको अवस्था छिमेकी मुलुक भारत र चीनभन्दा धेरै नै नाजुक रहेको सबैलाई थाहा भएकै विषय हो । हाम्रो अर्थतन्त्र भर्खरै मात्रै बामे सरिरहेको अवस्थामा छ । रोजीरोटीका लागि खाडी मुलुकमा जानुपर्ने बाध्यतामा रहेको हामीकहाँ यो रोगको प्रकोप फैलियो भने आफ्नै परिवारको मृत्युमा आँसु बगाउनुबाहेक अरू केही गर्न सक्ने अवस्था रहनेछैन । सोही कारण भारतले गरेको अवधिभन्दा बढी समय लकडाउन गर्नुपर्ने देखिएको हो । यदि लकडाउन नगर्ने हो भने नेपालको अवस्था के हुन्छ भनेर आँकलनसमेत गर्न सकिँदैन ।
कोरोना संक्रमणसँगै खाडी मुलुक, अमेरिका, युरोप र भारतबाट आउने रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ
आमनागरिकले लकडाउनतर्फ सचेत रहनुपर्ने खाँचो अधिक देखिएको छ । छोटो समयको लकडाउनमा समेत देशको राजधानीको रूपमा रहेको काठमाडौंका केही व्यक्ति लकडाउन भनेको कस्तो रहेछ भनेर सडकमा हेर्न निस्कने गरेका छन् । काम नभएको भन्दै टहलिनका लागि सडकमा निस्कने समुदायसमेत हामीकहाँ रहेको देखिएको छ । उनीहरूले लकडाउन के हो भनेर बुझ्नैपर्छ । सरकारले आमनागरिकलाई घरैमा बस्न आग्रह गर्दै आएको छ । कोरोना नियन्त्रण गर्न उपयुक्त माध्यम भनेकै ‘सेल्फ क्वारेन्टायन’ हो भन्ने कुरालाई सबैले पालना गर्नुपर्छ । कोरोना भाइरसको सम्बन्धमा यति धेरै प्रचार गर्दासम्म पनि त्यसको बेवास्ता कसैले गर्छ भने त्यसलाई किन कारबाही नगर्ने ?
प्राणरक्षाका लागि यस्तो जटिल अवस्थामा व्यवसायीहरूले पनि आफ्नो धर्मलाई बिर्सन हुँदैन । आफूसँग भएको उपभोग्य सामानको आपूर्तिमा कन्जुस्याइँ नगरी राज्यलाई सहयोग गर्नुपर्ने खाँचोबाट उनीहरू पन्छिन मिल्दैन । नाम चलेका व्यावसायिक घरानाले यतिखेर सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै राहतका प्याकेज ल्याई आमनागरिकमा देखिएको त्रास र भयलाई कम गराउन सक्नुपर्छ ।
बिहानबेलुकी काम गरेर जीविकोपार्जन गरिरहेका समुदायलाई राहतको घोषणा दिने सरकारले आफ्नो प्रतिबद्धता व्यक्त गरिसकेको छ । राज्य संयन्त्रले प्रतिबद्धतासँगै त्यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ । यदि आफंैले व्यक्त गरेका प्रतिबद्धता पालना नगर्ने हो भने ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका आमनागरिक भोकले मर्न सक्नेसम्मको अवस्था आउन सक्छ । त्यसैले, यसमा राज्य पक्ष संवेदनशील हुनैपर्छ । यस्तो अवस्थामा आमनागरिकले पनि राज्य संयन्त्रको मात्रै मुख नहेरी आफूसँग जे छ त्यसैमा रमाउन सिक्नु नै मानवीय गुण हो । बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्छ । यो हाम्रै कारणले गर्दा भएको हो । बढी सञ्चय गर्ने बानीलाई परित्याग गर्न सकेमा स्वतः यस्तो अभाव हट्नेछ । अहिले हामीकहाँ ग्याँस पसल, खाद्यान्न पसल, तरकारी बजारमा आमनागरिक बिनासावधानी भिडभाड गरिरहेका छन् । उनीहरूले बुझनुपर्छ, एक छाक नखाए केही हुँदैन । तर, कथंकदाचित एक जनालाई मात्रै कोरोना संक्रमण देखियो र त्यस्ता व्यक्ति खुलेआम हिँड्न थालेमा त्यसले समाज र देशलाई नै बिनाशतिर धकेल्नेछ । यसका लागि अरूले भन्दा पनि आफू नै सजग र सचेत रहनुपर्छ । यसतर्फ हामी सबैले सजगता अपनाउनैपर्छ । नत्र यसको प्रकोपले हामी सबैलाई क्षणभरमै बर्बादीतिर धकेल्नेछ ।
कोरोना संक्रमण सगै रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेको खाडी मुलुक, अमेरिका, युरोप र भारतबाट आउने रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालू आबको माघमा रेमिट्यान्स घटेको देखिएको छ । जब कि त्यतिखेर चीनबाहेक अन्यत्र कारोनाको प्रभाव खासै थिएन भन्दा पनि हुन्छ । अघिल्लो वर्षको सोही अवधिमा साढे २८ प्रतिशत बढेको रेमिट्यान्स घटेर ०.५ प्रतिशतमा सीमित रहेको छ ।
व्यक्तिगत श्रम स्वीकृतिमा १ सय ७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारीमा जाने गरेको अवस्थमा पनि अहिले बन्द छ । यसको असर लामो समयसम्म रेमिटयान्समा देखिनेछ । यसको प्रभाव बैंक र वित्तीय क्षेत्रदेखि उद्योग व्यवसायमा समेत पर्नेछ । कोरोना भाइरसका कारण चौतर्फी चपेटामा परेका सबै मुलुकको आर्थिक क्षेत्र यसबाट अछुतो रहन सकेको छैन । अझ विदेशमा रोजगारीका लागि जानेहरूले पठाउने रेमिट्यान्ससमेत कोरोना भाइरसको विश्वव्यापी महामारीको सिकार बनेको छ ।
नेपालबाट मासिक करिब ५० हजार युवा रोजगारीका लागि बाहिरिने गरेकोमा श्रम स्वीकृति बन्द गरेपछि चैत महिनादेखि कामदार विदेश जान पाएका छैनन् । नयाँ कामदार विदेश जान नपाएका र विदेशमा भएकाको समेत कोरोनाको कारण काममा प्रभाव परेका कारण रकम पठाउन सकिरहेको अवस्था छैन । नेपाल जीवनस्तर सर्भेक्षण २०६७÷६८ अनुसार करिब ५६ प्रतिशत नेपाली घरपरिवारले रेमिट्यान्स प्राप्त गर्ने गरेका छन् । त्यस रकममध्ये ७८.९ प्रतिशत रकम घरायसी उपभोग, ७.१ प्रतिशत ऋण तिर्न, ३.५ प्रतिशत शिक्षा र ४.५ प्रतिशत घरायसी सम्पत्तिमा खर्च भई ०.६ प्रतिशत मात्र बचत हुने गरेको थियो । रेमिट्यान्स प्रभावित भएपछि ५६ प्रतिशत परिवार प्रभावित हुनेछन् । कामका लागि बिदेसिएकाहरू स्वदेशमै फर्कनुपर्ने अवस्था आयो भने यसले अर्थतन्त्रलाई र देशलाई नै धेरै पछाडि धकेल्ने निश्चित छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएमा मुलकको अर्थतन्त्र धेरै बर्ष पछाडिको अवस्थामा धकेलिन सक्ने निश्चित भए पनि अहिलेको महत्वपूर्ण पक्ष भनेकै जीवनरक्षा गर्नु रहेकाले सरकार, नागरिक समाज र आमनागरिक त्यसतर्फ संवेदनशील बन्नुपर्ने देखिएको छ
योभन्दा पनि अहिलेको महत्वपूर्ण पक्ष भनेको जीवन र मृत्युबीचको सम्बन्ध हो । त्यसैले, सरकार, नागरिक समाज र आमनागरिकले त्यसतर्फ सोच्नुपर्दछ । कोरोना फैलन नदिने सबैभन्दा उत्तम उपाय भनेको क्वारेन्टायनमा बस्नुलाई लिन सकिने स्वास्थकर्मीहरूले बताउँदै आएका छन् । कसैसँग भेट गर्नुपर्दा कम्तीमा ६ फुट टाडै बस्नु उपयुक्त हुने सल्लाह पनि दिँदै आएका छन् । सबै बिरामीको उपचार गर्दा खटिने त स्वास्थ्यकर्मी नै हुन् । उनीहरूले माग गरेअनुसारको सामान भने उपलब्ध हुनुपर्छ । कोरोना अरू रोगभन्दा भिन्न भएकाले सामान्य अवस्थामा लगाउने मास्क र गाउनले काम नगर्ने स्वास्थ्यकर्मीले बताउँदै आएको विषय हो । त्यसैले, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निर्धारण गरेअनुसारको सामान उपलब्ध गराउन सकेमा उनीहरूको मनोबल बढ्ने थियो ।
अहिलेसम्म स्वास्थकर्मी रेस्पिरेटरी (एन९५) र सर्जिकल मास्कको भरमा सेवा दिन बाध्य छन् । त्यस्ता स्वाथ्यकर्मीको मनोबल उच्च राख्न सक्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अत्यावश्यक सामानको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थकर्मीले प्रयोग गर्ने पीपीई (व्यक्तिगत सुरक्षा उपकारण) मास्क, पन्जा, स्यानिटाइजरजस्ता सामानको आपूर्तिमा कुनै पनि कन्जुस्याइँ गनुहँुदैन । यस्तो कार्यमा सरकारलाई निजी क्षेत्रले पनि सहयोग गर्नु उसको कतव्र्य हुन आउँछ ।
कोरोना नियन्त्रणका लागि देशको अवस्था हेरेर सरकारले जति पनि समय लकडाउन बढाउनुपर्छ । अहिले उपचारमा अहोरात्र खटिरहेका चिकित्सक, स्वास्थ्कर्मी एवं आधारभूत काममा खटिने सुरक्षाकर्मीहरू चौबीसै घण्टा काममा तल्लीन छन् । मुलुकलाई अहिलेको भयावह अवस्थाबाट उन्मुक्ति दिने हो भने ‘आफू बाँचौं र अरूलाई पनि बचाआंै’ भने भनाइलाई आत्मसात् गर्दै देशको अवस्था र छिमेकी मुलुकको परिस्थितिलाई आँकलन गरेर लकडाउनलाई सबैले कडाइका साथ पालना गर्दै अहिले थपिएको अवधि बडाउनुपर्ने खाँचो देखिएको छ ।






