काठमाडौं । विश्व रंगमञ्च दिवसको अवसरमा सुरु भएको भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ले अब दैनिक दिनमा दुई नाटक देखाउने भएको छ ।
आयोजक संस्था थिएटर मलले यसअघि लकडाउन सुरु भएसँगै आफ्नो अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल पेजबाट दैनिक बेलुका ५ बजे एउटा नाटक प्रत्यक्ष देखाउँदै आएको थियो ।
उत्सव समापनतिर पुगेको र दर्शकको उत्साहजनक सहभागिता र प्रतिक्रियाका कारण २७ चैतबाट दिउँसो १ बजे पनि प्रदर्शन थप गरिएको हो । संक्रमणबाट बच्ने एक मात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन दिन १४ चैत्रबाट उत्सव सुरु गरेको हो ।
उत्सव आयोजक केदार श्रेष्ठले भने, ‘थपिएको दोस्रो साताको अन्तिम दिन बिहीबारदेखि पुनः थप केही दिन उत्सव लम्ब्याउँदै एकै दिनमा फरकफरक दुई नाटकको भिडियो प्रदर्शन गर्न लागिएको हो । उत्सवको समापनको नजिक पुगिसकेको तर प्राप्त नाटकहरू धेरै भएका कारण सबै नाटक दर्शकलाई देखाउन यो निर्णय हामीले लिएका हौं ।’
उत्सवमा बुधबार प्रतीक्षा कट्टेल लिखित तथा विजया कार्की निर्देशित नाटक ‘क्लेशाः’को प्रदर्शन गरियो । यो नाटकमा चलचित्रकी नायिका सुरक्षा पन्तका साथै कुशल पाण्डे, सिर्जना अधिकारी, रुजु शर्मा, स्वप्निल घिमिरेलगायतको अभिनय रहेका थिए ।
त्यस्तै, बिहीबार दिउँसो १ बजे नाटक ‘अँधेरी नगरी चौपट राजा’ देखाइने भएको छ । भारतीय नाटककार भरतेन्दु हरिषचन्द्र लिखित यो नाटकमा संगीत सापकोटा र आशीष घिमिरेको संयुक्त निर्देशन रहेको छ । बिहीबार नै बेलुकी ५ बजे नाटक फ्रान्सेली निर्देशक एलिज बियान्निकको नेपाली भाषामा निर्मित डान्स ड्रामा नाटक ‘द फ्लाइट’को भिडियो प्रदर्शन गरिने भएको छ ।
उत्सवमा चे शंकर निर्देशित लु सुनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’, हिरा बिजुली निर्देशित कर्णाली आर्ट सेन्टरको प्रस्तुति ‘गर्भछिटा’, डेनमार्कको नाटक ‘टु बी’, आयोजककै ‘भोको घर’ तथा आरोहण गुरुकुलको नाटक पनि सूचीमा छन् ।
‘कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी वैशाख ३ सम्मलाई ‘लकडाउन’ अवधि घोषणा गरेको छ । सो घोषणासँगै थिएटर मलले पनि यो नाटक उत्सव सात दिन थपेर तेस्रो साता पनि प्रदर्शन सुरु गरेको हो ।






