काठमाडौं । २०७६ साल व्यावसायिक हिसाबले नेपाली चलचित्रमा महँगा अभिनेत्रीका लागि फलदायी रहेन । वर्षभरि रिलिज भएका ५६ चलचित्रमध्ये ६ वटा मात्रले नाफा कमाउँदा महँगा नायिकाको फिल्म चैपट भए ।
२०७६ सालमा प्रदर्शनमा आएका ५६ चलचित्रमध्ये ६ माया छपक्कै, कबड्डी कबड्डी कबड्डी, जात्रैजात्रा, दाल भात तरकारी, आमा बक्स अफिसमा सर्वाधिक हिट साबित भए । यस्तै, हरहर फिल्म घरले पनि केही नाफा कमायो । बाँकी चलचित्र डुब्दा महँगा नायिकाको सिनेमा डुबेका हुन् ।
महँगा नायिकामध्ये एउटा फिल्मबाट २०÷२० लाख रुपैयाँ पारिश्रमिक लिने दुई नायिका पूजा शर्मा र नम्रता श्रेष्ठको चलचित्र २०७६ मा असफल भए । पूजाले चलचित्र पोइ प-यो कालेबाट २० लाख रुपैयाँ पारिश्रमिक लिइन् । उनले २०७६ मा रिलिज यो चलचित्रबाट सबैभन्दा बढी पारिश्रमिक लिएकी हुन् । तर, यो चलचित्रले निर्माताको लगानी भने उठाउन सकेन । यसले पूजाको स्टारडम भ्यालु पनि जोगाएन । निकै आशा गरिएको चलचित्र पोइ प¥यो काले बक्स अफिसमा अन्ततः फ्लप भयो । पोइ प-यो कालेमा पूजासँगै आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका थियो । २०७६ सालमा व्यावसायिक रूपमा असफल भएकी अभिनेत्री पूजा शर्माको २०७७ साल म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मनसहित चारवटा फिल्म रिलिज हुँदै छन् ।
यस्तै, अर्की महँगी अभिनेत्री नम्रता श्रेष्ठले चलचित्र प्रसादमा उनले २० लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । २०७५ सालमा सो चलचित्र सफल भयो । २०७६ सालमा नम्रताले आफ्नो निर्माणमा बनेको चलचित्र जाइरामा मात्र अभिनय गरिन् । यो चलचित्र फ्लप भयो । जाइराले यी महँगी नायिकाको साख जोगाउन सकेन । यो चलचित्रमा उनको कामको मिडियाले प्रशंसा गरे पनि दर्शकले हलमा साथ दिएनन् । जाइरामा उनी र अनुपविक्रम शाही प्रमुख भूमिकामा थिए । एउटा फिल्मबाट २० लाख रुपैयाँ पारिश्रमिक लिने यी नायिकाको स्टारडमले पनि २०७६ सालमा काम गरेन ।
अर्की महँगी अभिनेत्री स्वस्तिमा खड्काले एउटा चलचित्रबाट १५ लाख रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् । उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको चलचित्र घामड शेरे गत वर्ष रिलिज भयो । तर, यो चलचित्र बक्स अफिसमा फ्लप साबित भएको छ । २०७५ सालमा रिलिज भएको चलचित्र बुलबुलबाट व्यावसायिक सफलतासँगै थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड चुमेकी स्वस्तिमाले २०७६ सालमा रिलिज भएका दुईवटा फिल्मबाट कुनै जादु देखाउन सकिनन् । उनको अर्को चलचित्र हजार जुनीसम्म पनि व्यावसायिक रूपमा सफल हुन सकेन । विकासराज आचार्य निर्देशित यो चलचित्र पनि प्रेम कथामा आधारित थियो । यसरी, महँगी नायिकाको सूचीमा परेकी अभिनेत्री स्वस्तिमा खड्काले पनि २०७६ सालमा नेपाली चलचित्र उद्योगलाई सफल फिल्म दिन सकिनन् । उनले आफ्नो स्टारडमबाट निर्माताको लगानी जोगाउन सकिनन् ।
यस्तै, अर्की महँगी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको दुईवटा चलचित्र २०७६ सालमा रिलिज भए । साम्राज्ञीको चलचित्र मारुनी र रातो टीका निधारमा रिलिज भएको हो । तर, उनको पनि यी दुवै चलचित्रले लगानी उठाउन सकेन । साम्राज्ञीले चलचित्र मारुनीमा १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । यो चलचित्रले सिनेमा हलमा आशा गरेको जस्तो व्यापार गर्न सकेन र फ्लपको सूचीमा प¥यो । ट्रान्स जेन्डर कथामा आधारित यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का मुख्य भूमिकामा थिए । साम्राज्ञीको २०७६ सालमा अर्को चलचित्र रातो टीका निधारमा प्रदर्शन भयो ।
नारीप्रधान प्रेमकथामा आधारित यो फिल्म पनि सफल हुन सकेन । यो चलचित्रबाट निर्माता अशोक शर्माले ६० लाख रुपैयाँ घाटा सहनुप¥यो । यो चलचित्र नवअभिनेता अंकित शर्मासँग नायिका साम्राज्ञी जोडी बनेर प्रस्तुत भएकी थिइन् । यो चलचित्रबाट पनि अभिनेत्री साम्राज्ञीले महँगो पारिश्रमिक लिएकी थिइन् । यसरी, महँगी नायिकाकी रूपमा परिचित साम्राज्ञीले पनि आफ्नो स्टारडमबाट निर्मातालाई २०७६ मा हिट फिल्म दिन सकिनन् ।






