काठमाडौं । सरकारले व्यवस्थापन गर्दै आएको राष्ट्रिय र साझेदारी वनमा लकडाउनको मौका पारेर काठ तथा वन्यजन्तुको तस्करी बढेको पाइएको छ । समुदायले व्यवस्थापन गरेका वन समूहका कार्यालयमा तस्करले तोडफोड र लुटपाट गर्नुका साथै लाखौं रूख कटानी गरेर चोरी निकासी गर्न थालेका छन् ।
तराई क्षेत्रका वनमा यतिबेला तस्करको बिगबिगी रहेको छ । लकडाउनको समयमा सबै घरभित्र रहेको समयमा तस्करले चोरी सिकारी गर्न थालेकाले सम्बन्धित निकाय चनाखो हुनुपर्ने स्थानीयले बताएका छन् ।
मेचीदेखि महाकालीसम्म तराई र चुरे क्षेत्रका वनमा तस्करीका घटना वृद्धि भएको छ । पूर्वका केही सामुदायिक वनका कार्यालयमा कागजपत्रसमेत चोरी भएको सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले जानकारी दिइन् । ‘लकडाउनको मौका छोपी तस्करले कार्यालयमा नै चोरी गर्ने, रेकर्ड नष्ट गरिदिने कार्य गरेका छन्,’ उनले भनिन्, ‘यस्ता घटना बढेपछि महासंघले मुलुकभरका सामुदायिक वन समूहलाई सचेत रहन आह्वान गरेको छ ।’
कञ्चनपुरसहित तराईका विभिन्न जिल्लामा डिभिजनल वन कार्यालयले लकडाउनका समयमा काठ चोरी वृद्धि भएको स्विकारेका छन् । डिभिजनल वन कार्यालय महोत्तरीले लकडाउन सुरु भएदेखि आइतबारसम्ममा डेढ सयभन्दा बढी क्युफिट काठ बरामद गरेको छ । यी सबै काठ राष्ट्रिय वन क्षेत्रबाट बरामद गरिएको हो । डिभिजनल वन कार्यालय धनुषाका डिभिजन अधिकृत अशोक झा धनुषामा भएका तीनवटा घटना राष्ट्रिय वन क्षेत्रमा नै भएको बताउँछन् ।
डिभिजनल वन कार्यालय सर्लाहीले लकडाउन सुरु भएदेखिका ६ स्थानमा चोरी तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । तीमध्ये पाँचवटा चोरी तस्करीका घटना साझेदारी र सरकारद्वारा व्यवस्थापन गरिएका राष्ट्रिय वन क्षेत्रमा भएको पाइएको छ । एउटा घटना मात्र सामुदायिक वन क्षेत्रमा भएको थियो ।
डिभिजनल वन कार्यालय रौतहटका अनुसार ४ वैशाखमा भोलाटार क्षेत्रमा ७ लाख रूख ढालिएका थिए । यो पनि राष्ट्रिय वन कै क्षेत्र हो । त्यसअघि पनि जिल्लाका जंगलसैया, बलेरी र चौता क्षेत्रबाट काठहरू बरामद भएका थिए । बलेरीको वृन्दावन साझेदारी वनअन्तर्गतको क्षेत्रमा पर्छ ।
जिल्ला वन कार्यालय बाराले पक्राउ गरेका चारवटा घटनामा एउटा मात्र सामुदायिक वन क्षेत्रको हो भने बाँकी एउटा साझेदारी र दुईवटा घटना सरकारी वनमा भएका हुन् । त्यसैगरी, डिभिजन वन कार्यालय कपिवस्तुले ३ वैशाखमा अवैध रूपमा जंगलमा सिकार खेल्ने ६ जनालाई दुई फरक स्थानबाट पक्राउ गरेको छ । चार जनालाई वाणगंगा नगरपालिका–१० स्थित बुद्ध सामुदायिक वन क्षेत्रबाट पक्राउ गरिएको थियो भने दुई जना तिलौराकोट साझेदारी वन क्षेत्रबाट पक्राउ परेका थिए ।
कैलाली जिल्लामा भएका पाँचवटा घटनामध्ये एउटा घटना मात्र सामुदायिक वन क्षेत्रमा भएको छ । बाँकी सबै चोरीका घटना साझेदारी र राष्ट्रिय वन क्षेत्रमा भएका छन् । डिभिजनल वन कार्यालय कैलालीले १३ र २३ चैत २०७६ मा धनगढी नपा–१५ र १६ बाट २५० क्युफिट काठ बरामद गरेको थियो । यी दुई घटना भारताल साझेदारी वन क्षेत्रमा भएका हुन् ।
त्यसैगरी, गोदावरी नगरपालिकामा २६ र २८ चैतमा १९७ क्युफिट काठसहित पाँच जना पक्राउ परे । यी घटना राष्ट्रिय वन क्षेत्रमा भएका हुन् । राष्ट्रिय वन स्रोत सर्वेक्षण २०१५ का अनुसार ४ लाख ११ हजार ५ सय ८० हेक्टर वन छ । त्यसमध्ये १ लाख हेक्टर समुदायद्वारा व्यवस्थित वन हो, जहाँ ५ हजार समुदायले काम गरिरहेका छन् ।
डिभिजनल तथा सव डिभिजनल कार्यालयअन्र्तगत वनको सुरक्षार्थ खटिएका कार्मचारीले लकडाउनको समयमा काम गर्दा अतिरिक्त सेवा सुविधा पाउनुपर्ने माग गरेका छन् । बन्दाबन्दीको समयमा प्रहरीलाई अतिरिक्त भत्ता भएजस्तै वनको सुरक्षार्थ खटिने कर्मचारीलाई पनि अतिरिक्त भत्ता चाहिने उनीहरूको माग छ ।
डिभिजनल वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेल सरकारले वन क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा नराखे पनि २४ सै घण्टा काम गर्नुपर्ने बाध्यता भएको भन्दै वन सुरक्षार्थ खटिने कर्मचारीलाई अतिरिक्त भत्ता र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए ।






