काठमाडौं । गायिका रेखा शाहले जिन्दगीको अर्थ बुझाउने गीत ल्याएकी छन् । लकडाउनले सबै घरमा भएको बेला उनले जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी…गीत सार्वजनिक गरेकी छन् । उनको एल्वम ’स्मृति’मा समावेश गीतमा भूपेन्द्र खड्काको शब्द तथा राजु सिंहको संगीत रहेको छ । फणिन्द्र राईको संगीत संयोजन रहेको यो गीतको लिरिकल भिडियो यति बेला रिलिज गरिएको हो । जसलाई दिपेन बस्न्यातले तयार पारेका हुन् । यो गीतबाट उनले जिन्दगीको अर्थ बुझाउने कोसिस गरेकी छन् ।
२०४९ सालमा शाह रेडियो नेपालमा स्वर परीक्षा पास गर्नका लागि पुगेकी थिइन् । तर, आधुनिक गीतको स्वर परीक्षा पास गर्ने फारम भर्ने मिति सकिएकाले उनले सिमसिमे पानीमा ’लोकगीत प्रतियोगिता’मा गाइन् र प्रथम पनि भइन् । उनको लोक गायिकाको परिचय बन्यो तर उनको परिचय भने त्यत्तिले पुग्दैन । उनी शास्त्रीय संगीतकी विद्यार्थी हुन् । संगीतबाहेक जीवनमा कुनै कर्म नगरेकी उनका आधुनिक तथा पप शैलीका ३ वटा एल्बम सार्वजनिक भएका छन् भने दर्जनौं गीत हिट छन् ।
भिडियो रिलिज गरेको यो गीत’bout रेखाले भनिन्,‘ समयक्रमसँगै मैले पनि आफ्ना राम्रा गीतलाई मेरो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने सोच बनाएकी छु । यसैक्रममा मेरा गीत यसरी मेरै युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएको हुँ ।’
कोरोनाको संक्रमणपछि सबैजस्तै उनी पनि लकडाउनमा घरभित्र नै छिन् । पुस्तक पढ्ने, सिनेमा हेर्ने र गीत सुन्ने गरिरहेकी उनले लकडाउनपछि आफ्नो नयाँ गीत ‘काठैको पुतली झ्यालझ्यालमा’ सार्वजनिक गर्ने पनि बताइन् ।






