धनगढी । कैलालीको पुरैना ताल २०६४ सालमा मोहना नदीको बाढीले पुरियो । बाढीले ताल पुरेपछि स्थानीयले उक्त क्षेत्र अतिक्रमण गरे ।
६ सय बिघा क्षेत्रफलमा फैलिएको छ
भजनी नगरपालिका वडा नम्बर ७ लालबोझीमा रहेको पुरैना ताललाई अतिक्रमणमूक्त गर्दै पुरानै स्वरुपमा फर्काइदैछ । पाँच सय ६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताल पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । स्थानीय खेती गर्दै आएको ताल क्षेत्र पुरानै अवस्थामा फर्काउने काम हुँदैछ । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पुरैना ताललाई एसियाकै ठुलो ताल बनाउन सकिने बताए ।
उनले भने, ‘पर्यटकीय क्षेत्रमा ल्याउन सकिने पुरैना ताल लगभग ६ सय बिघा क्षेत्रफलमा फैलिएको छ । एसियाकै सबैभन्दा ठुलो ताल हुन सक्छ । पुरैना ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्दैछौ ।’ ताल अतिक्रमण भएको झण्डै १६ वर्षपछि अतिक्रमण हटाएर पुरानै स्वरुपमा फर्काउने प्रयास भएको छ । ताल क्षेत्रको सीमाकंन र नक्सांकन गरेर वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो माटोकै पर्खाल बनाउने काम भएको छ ।
डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पर्ने उक्त ताल क्षेत्रको पुनःस्थापना गर्ने काम थालिएको छ । पुरैना ताल कैलाली जिल्लाको सबैभन्दा ठुलो ताल हुने सुदूरपश्चिम सरकारको दाबी छ । चौधरीले घजन, घोडाघोडी, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिका क्षेत्रका लागि पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए । अहिले गहिरो तालभन्दा पनि सिमसार बनाउन खोजेको प्रदेश सरकारले बताएको छ ।
सिमसारमा बाढीले पनि क्षति कम गर्ने हुन्छ । स्थानीय र पर्यापर्यटनका जानकारहरुका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्व छ । पुरैना भनेको थारु भाषामा कमलको फूल हो । स्थानीय थारु समूदायमा आफ्नो पूजाआजामा त्यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो। विगतमा पुरैना तालको पर्यापर्यटकीय महत्व पनि धेरै थियो । सोही आधारमा प्रदेश सरकारले योजना बनाउदैछ ।
सुदूरपश्चिमका पर्यटन मन्त्री चौधरीले पर्यटकीय क्षेत्रहरु र तालहरुको संरक्षण र सुरक्षाको काम थालिएको बताए। पुरैना ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरु बास बस्ने ठाउँ पनि हो । साइबेरिया, रुसबाट आएका चरा बच्चा कोरलेर फर्किने गर्थे । ताल विनास भएपछि बासस्थान खल्बलिएको छ। पुरैना ताल विनास भएका कारण घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरुको संख्या घटिरहेको छ ।