काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसारभरि नै व्यावसायिक कर्मको निर्वाहका लागि कानुन व्यवसायीमाथिको आक्रमणलाई न्यायविरुद्धको कसुर मानिने र अदालत आफैंले पनि स्वज्ञानका आधारमा कारबाहीको प्रक्रिया अघि बढाउने प्रचलन स्थापित भए पनि आफूमाथि भएको आक्रमणका सम्बन्धमा अदालतद्वारा दोषीमाथि कारबाहीको कुनै पनि प्रक्रिया अघि नबढाएकामा असन्तुष्टि जनाएका छन् ।
उनले बरु आफूमाथि अदालतको अवहेलनाको मुद्दा कठोर दृष्टिकोणका साथ दर्ता गरी यससम्बन्धी प्रक्रिया अघि बढाइएको भन्दै आफूले कुनै न्यायाधीश वा अदालतविरुद्ध कुनै देवानी वा फौजदारी अवहेलनाजनक क्रियाकलाप नगरेको नगराएको प्रस्ट पारेका छन् । उनले न्यायिक कर्तव्य पालनको प्रक्रियामा रहेको निहत्था कानुन व्यवसायीमाथि हिंसाको प्रयोग भएको तथ्यले एउटा न्यायकर्मी मर्माहत हुनुको पीडा कसले बुझ्ने भनेर पनि प्रश्न गरेका छन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले बिहीबार प्रेसनोटमार्फत भनेका छन्, ‘म पुनः स्पष्ट गर्न चाहन्छु कि मविरुद्ध अदालतको अवहेलना मुद्दासमेत दायर भइसकेको परिप्रेक्ष्यमा बहालवाला न्यायाधीशज्यूसमेत सम्मिलित रहनुभएको न्यायाधीश समाजद्वारा मेरो अभिव्यक्तिप्रति खेद प्रकट गरिएको विषय सार्वजनिक भइसकेको छ, न्यायाधीश समाजद्वारा मेरो अभिव्यक्तिप्रति खेद प्रकट गरी आफ्नो स्पष्ट सोच सार्वजनिक भइसकेको अवस्थामा मविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ प्रक्रिया के कसरी अघि बढ्ने हो ? के न्यायाधीशज्यूहरूले विवादका विषयहरूमा इजलासबाहिर सार्वजनिक ठहर गर्न पाइन्छ ? माननीय न्यायाधीशज्यूहरूको अवधारणा अगावै सार्वजनिक भइसकेको स्थितिमा मेरो निष्पक्ष सुनुवाइको हक कसरी सुनिश्चित हुने हो ? दुनियाँको न्यायका लागि अदालत धाउँदै गरेको मैले आफ्ना लागि निष्पक्ष सुनुवाइको अपेक्षा नगरूँ ?’
उनले यसमा सर्वोच अदालतको फुलकोर्ट तथा न्यायालयबाहिर पनि गहन सामाजिक विमर्श हुनु आवश्यक रहेको बताएका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा जारी हुने बहालवाला न्यायाधीशहरूको सामूहिक वक्तव्यले न्यायिक प्रक्रियामा पार्ने असरका सम्बन्धमा बार एसोसिएसन तथा ल स्कुलहरूलगायत कानुनी जगतको ध्यान पनि आकर्षित गर्न चाहेको बताएका छन् ।
उनले भनेका छन्, ‘मेरो न्यायको हक नै कुण्ठित हुने अवस्थाको सिर्जना भएको छ, न्याय गरेर मात्र हुँदैन न्याय गरेको देखिनु पनि पर्छ, यस सम्बन्धमा म सबै सरोकारवालाको ध्यान आकर्षित गर्न चाहन्छु, न्यायिक प्रक्रियाको पवित्रता एवं विश्वसनीयता मेरा लागि सर्वोपरी छ, विद्यमान अवस्थामा न्यायको पवित्रता एवं विश्वसनीयतामाथि गम्भीर प्रश्न उपस्थित भएको छ, हाल विचाराधीन रहेको सहकारी मुद्दामा हजारौंको संख्यामा पीडितको न्यायको प्रश्न पनि सन्निहित छ । यस्तो परिस्थितिमा न्यायाधीश समाजको वक्तव्यले पार्ने प्रभाव एउटा गम्भीर एवं संवेदनशील विषय हो ।’
उनले प्रेसनोटमा भनेका छन्, ‘कानुनको शासन, स्वतन्त्र न्यायपालिका एवं आधारभूत नागरिक अधिकारबिना पीडितहरूको अधिकार सुनिश्चित हुन सक्दैन, यसका लागि म एउटा कानुन व्यवसायीका रूपमा अविचलित, अविराम एवं सम्झौताहीन संघर्ष गरिरहनेछु, यो मेरो जीवनको विनिमय गर्न नसकिने प्रतिबद्धता हो, यो प्रतिबद्धता हामी सबैको हितमा भएको म पुन स्पष्ट गर्न चाहन्छु, यस विषयमा हुने विषयान्तरले कुनै पनि न्यायकर्मीले सुरक्षित अनुभव गर्नेछैन ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीले भनेका छन्, ‘न्यायाधीश र कानुन व्यवसायी दुवै अदालतका अभिन्न अंग हुन्, न्यायाधीशले पनि पूर्ण सक्षमताका साथ निष्पक्ष रहेर न्याय निरूपण गरेर आफ्नो न्यायिक गरिमा कायम गर्नुपर्छ भने कानुन व्यवसायीले पनि आफ्नो पक्षको हितका लागि पूर्ण सक्षमताका साथ अदालतसमक्ष प्रस्तुत हुने र सार्वजनिक महत्वका विषयमा आमनागरिकका लागि कानुनी र न्यायिक विषयमा विमर्श गर्ने, विश्लेषण गर्ने र न्यायिक विचलनका ’boutमा निर्धक्कसँग बोल्ने स्वतन्त्रताको प्रयोग गर्ने नैसर्गिक अधिकार राख्छन् भन्ने मान्यतालाई कहीँ कतैबाट पनि निस्तेज हुन दिनुहुँदैन ।’
जब कानुन व्यवसायीको मर्यादा र स्वतन्त्रतामाथि प्रहार गरिन्छ, तब स्वतन्त्रता स्वछन्दता बन्ने र निरंकुशताको उदयको कारक बन्ने उनको तर्क छ । यसतर्फ सबैको यथोचित ध्यान जान जरुरी रहेको भन्दै उनले राज्यका अरू निकायसरह न्यायाधीशलाई पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता नभएको बताएका छन् ।
‘न्यायाधीश पनि सार्वजनिक जवाफदेहिताको पद हो जो नागरिकको जीवन, स्वतन्त्रता एवं सम्पत्तिको रक्षक रहेको हुन्छ, न्यायाधीश पनि सार्वजनिक जवाफदेहिताको पद हो तसर्थ न्यायाधीश पनि आफ्नो कार्य वा अकार्यका लागि सार्वजनिक जवाफदेहिता एवं प्रश्नबाट भाग्न मिल्दैन,’ वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रेस नोटमा भनेका छन्, ‘यो निरन्तर सार्वजनिक निगरानीमा रहन्छ, अदालत भनेको यसको भव्य भवन वा पर्खाल मात्र होइन अपितु यसको न्याय निरूपण गर्ने सक्षमता एवं आमनागरिकलाई न्यायको अनुभूति गराउन सक्ने जीवन्त संस्था हो, जवाफदेहिताको संस्कृतिको अभावमा संसारमा धेरै लोकतन्त्र मर्दै गएका छन्, लोकतन्त्रमा जवाफदेहिता खोजिनुपर्छ भन्ने तथ्यमा म विश्वास गर्दछु ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि गत २ माघमा सहकारी ठगी एव संगठित अपराध मुद्दामा पीडितहरूका तर्फबाट बहस गरी बाहिर निस्किएका बेला काठमाडौं जिल्ला अदालतबाहिर आक्रमण भएको थियो । उनीमाथि भएको भौतिक आक्रमणको घटनापछि उनको अभिव्यक्तिले अदालतप्रति अनास्था फैलिन गएको भनी न्यायाधीश समाजले १० माघमा प्रेस विज्ञप्तिमार्फत उनीप्रति खेद प्रकट गरेको थियो । सो विज्ञप्तिले आफूलाई गम्भीर रूपमा मर्माहत तुल्याएको उनले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।






