धार्चुलामा रोकिएका नेपाली ‘आफ्नै गाउँ, फर्किए आए’

ओकाली ओराली गर्दै,
आँखाभरी रहर भर्दै,
आधी भेरीसँगै लड्दै,
खोला नदी सागर तिर्दै
दुख पीडा विर्षिदै म आए
प्रदेशबाट म आए, आफ्नै गाउँ फर्कि आए

कुनै बेलाको चर्चित नेपाली चलचित्र सीमानामा रहेको यो गीतको झल्को दिनेगरी भारतमा मजदुरी गर्न गएका नेपालीहरु स्वदेश फर्किएका छन् । भजनी नगरपालिका ४ कैलालीका दलबहादुर बुढा एक महिना भारतीय क्वारेन्टाइनमा बसेपछि बुधबार स्वेदश फर्किएका छन् । रोजगारी खोज्न भारतका कालापहाडमा गएका बुढासँगै एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् ।

३४ दिन भारतको क्वारेन्टाइनमा दुख कष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकोकामा निकै खुसी छन् । ‘ढिलो गरी आफ्नो भूमि आउन पाउँदा पनि भारतमा खेप्नुपरेको कष्ट भुलेका छौ,’ दलबहादुर बुढाले भने, ‘आफ्नै जन्मभुमी र आफ्नो गाउँ फर्किन पाउँदाको खुसीको सीमा छैन् ।’

उनले भने, “सरकारले हाम्रो आवाज सुनिदियो, धेरै धेरै धन्यवाद ।” आफ्नो भनेको आफ्नै हुन्छ, बुढा भन्छन्, “भारतमा बसेर उनीहरुको गाली खाएर बस्नुभन्दा आफ्नो ठाउँ आएका छौ यहि रमाउँछौ ।”

भारतमा रहेका मजदुरहरु स्वदेश आएसँगै आफ्नो गाउँसम्म पुर्याउनुपर्ने बताउँछन् शुक्लाफाटा नगरपालिका १० का मनोज पार्की । “सरकारले उद्धार गर्यो अब घरपरिवार भेट्न चाहन्छौ ।” गत मंसिर महिनामा भारतमा मजदुरी गर्न गएका मनोज अब भारतभन्दा आफ्नै भूमिमा काम गर्नुपर्छ उनले भने ।

अप्ठ्यारो परेको बेला आफ्नै देशको भूमी प्यारो छ । भारतमा गएर गाली गलौच खानु शिवाय केहि छैन् । एक महिना क्वारेन्टाइन बस्दा भोगेको समस्या भनेर साध्य छैन् भन्छन विक । उनीहरुकले निरन्तर आफ्नो समस्या सञ्चार माध्यममा दिएकै कारण सरकारले भारतबाट उद्धार गर्ने निर्णय गरेको हो ।

बिहीबार दार्चुला जिल्लाका २ वटा नाकाहरु दत्तु र खलंगा तथा बैतडीको झुलाघाट नाका भएर नेपालीको उद्धार गरिएको छ । सदरमुकाम खलंगाको पुलघाँटबाट आएकाहरुलाई महेन्द्र नमूना मावि खलंगा र दत्तुमै स्वास्थ्य चेकजाँच गरिएको छ । स्वास्थ्य चेकजाँचपछि अधिकांशलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

अप्ठ्यारो परेको बेला आफ्नै देशको भूमी प्यारो छ । भारतमा गएर गाली गलौच खानु शिवाय केहि छैन् । एक महिना क्वारेन्टाइन बस्दा भोगेको समस्या भनेर साध्य छैन् 

बैतडी बझाङ र दार्चुलाका विभिन्न स्थानीय तहका व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने गरी पठाइएको उनले बताए ।

नेपाल भित्र्याइएका कैलाली कञ्चनपुर लगायतका अन्य जिल्लाका नागरिकहरु पनि पठाउने तयारी भइरहेको छ । आफ्ना स्थानीय तहका नागरिक लिन बैतडी र बझाङका जनप्रतिनिधि दार्चुला आएका थिए ।

धार्चुलाका विभिन्न क्वारेन्टाइमा राखिएका नेपालीहरुमध्ये बैतडी र बझाङका नागरिकहरुलाई दत्तु नाकाबाट ल्याइएको छ भने दार्चुला लगायत अन्य जिल्लाका नागरिकहरु खलंगा नाकाबाट नेपाल भित्रयाएको हो ।

नेपाल भारतमा लकडाउन भएपछि धार्चुलामा पुगेका नेपालीहरुले स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै तीनदिनसम्म पूल छेउबाटै नाराबाजी गरेका थिए । सयौं नेपालीहरु महाकाली तरेर समेत नेपाल फर्किएका थिए । नेपाल भित्रिन नसकेका मजदुरहरुलाई उच्चस्तरीय सहमतिपछि नेपाल प्रवेश गराइएको हो ।

दत्तु र खलंगा नाका भएर अपरान्हसम्म १ हजार २ सय ९० जना नेपाली स्वेदश फर्किएका छन् । ढिलै भएपनि सफल रुपमा नेपाल प्रवेश गराएर सम्बन्धित तहमा पठाउन सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल खुसी व्यक्त गर्छन् ।लामो समयदेखि उद्धारको माग गर्दै आएका नेपाली मजदुरलाई उद्धार गर्न सकियो, लामो समयसम्म माथिबाट आदेश नआउँदा ढिलाई भएपनि अहिले आएर उनीहरुको स्वास्थ्य चेकजाँच गरेर पठाएका छौ ।

सबैको स्वास्थ्य चेकजाँच भारत र नेपाल दुवैतर्फ गरेर पठाउन थालिएको छ । उनीहरुको सम्बन्धित स्थानीय तहमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्थापन मिलाइएको प्रजिअ पौडेलले बताए ।

भारतको क्वारेन्टाइनमा नेपालका दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, बझाङ, अछाम, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख लगायतका जिल्लाका नागरिकहरुको उद्धार गरिएको छ । लकडाउन भएपछि नेपाल प्रवेश गर्न खोजेका थिए । तर प्रवेश नपाएपछि भारत सरकारले उनीहरूलाई विभिन्न स्थानमा क्वारेन्टाइन राखेको थियो ।

उद्धारपछि नेपालको मात्र हैन, भारतीय प्रशासनसमेत खुसी छ । भारत धार्चुलाका एसडिएम अनिल शुक्लाले एक महिनासम्म नेपालीहरुको स्वास्थ्य चेकजाँच गरि सुरक्षित राखिएको बताए । एसडिएम सुक्लाले भने, “सबै नेपाली स्वस्थ्य छन्, चिन्ता मान्नुपर्ने अवस्था छैन् ।” नेपालीहरुलाई धार्चुलामा, खान, बस्न, मनोरञ्जन खेल्न तथा योगको माध्यमबाट खुुसी राखिएको प्रतिक्रिया दिए ।

भारतको पिथौरागढ अन्तर्गत धार्चुलामा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, अछाम, दैलेख, सुर्खेत लगायतका जिल्लाका मजदुरहरु रहेका थिए ।

खाजा र नगद खर्च

भारतमा मजदुरी गरि फर्किएका झण्डै एक हजार एक सय बढि नेपालीलाई खाजा र नगद खर्चको व्यवस्था गरिएको छ । व्यासी सौका समाज दार्चुलाको आयोजना र बुढानिलकण्ठ काठमाण्डौंमा विद्यालयमा पढेका सौका समुदायका भूपू विद्यार्थीहरुको सहयोगमा खाजा र नगदको व्यवस्था गरिएको हो ।

एक महिनादेखि समस्यामा परेका मजदुरहरुलाई घर जानसम्म खर्च भन्दै प्रति व्यक्ति ५०० रुपैया व्यवस्था गरिएको व्यासी सौका समाजका अध्यक्ष यसोदा तिंकरीले बताइन् । यस्तै उनीहरुले प्रति व्यक्ति चाउँचाउ, चिउँरा, विस्कुट, र एक बोतल खानेपानीको व्यवस्था गरिदिएको छ ।

अप्ठयारोमा परेका नेपालीहरुलाई हाम्रा पूर्व विद्यार्थी समाजले रकम संकलन गरि वितरण गरिएको अध्यक्ष तिंकरीले बताईन् । यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतबाट आएका नेपालीहरुलाई मास्क वितरण गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 471 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु