पोखरा । पोखरामा आगामी सातादेखि दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट’ प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा २३ देखि ३० चैतसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा उक्त प्रतियोगिता गर्न लागेको हो । शनिबार पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष समेत रहेका एकेडेमी अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा १६ टिमलाई समावेश गराइने जानकारी दिए ।
गत वर्ष तुलनामा यसपालि धेरै टिमले नाम लेखाएको उनले बताए । ‘हामीलाई टिमको प्रेसर २८–२९ कै भइसकेको छ । तर, १६ टिममा प्रतिस्पर्धा गराउँछौं,’ उनले भने ।
उनका अनुसार तयारीका क्रममा ८ वा १२ टिमबीच प्रतिस्पर्धा गराउने योजना थियो । तर टिमको प्रेसर आइसकेपछि नवप्रतिभाको इच्छा नमारौं भन्ने हिसाबले १६ सम्म जाने भन्ने निर्णय भएको बताए ।
खेल पर्यटनको आधारले पोखरामा यो प्रतियोगितालाई निरन्तरता दिइएको उनले प्रस्ट पारे । उनका अनुसार यसबाट नवप्रतिभाको खोजी गर्न पनि सघाउने छ भने खुला प्रतियोगिताबाटै ठूलो धनराशिको पुरस्कार जित्ने अवसर पनि रहेको छ । उनले भने, ‘को खेल्न पाउने, को नपाउने भन्ने छैन । नेपाली नागरिक भएपछि खेल्न पायो । ब्याट्स समाएर हान्नुप¥यो, आइसिसीको रुल फलो गर्ने जोकोही पनि खेल्न सक्छन् ।’
गत वर्ष प्रदेश तथा विभागीयसहित १२ टिमले भाग लिएका थिए । जसमा मधेश प्रदेशले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पहिलो उपाधि जितेको थियो । विजेताले ५ लाख र उपविजेताले साढे २ लाख प्राप्त गरेकामा यसपालि पुरस्कार राशितसमेत बढाइएको छ ।
विजेताले १० लाख र उपविजेताले ५ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि सिरिजले ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले १०÷१० हजार र म्यान अफ दि म्याचले ५ हजार साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनायो । खेल लिग कम नक आउटका आधारमा खेलाइने छ ।
ग्रासरुटबाटै खेलाडी उत्पादनमा यो प्रतियोगिता महत्वपूर्ण हुने आयोजकको दाबी छ । यसले पोखराको क्रिकेट विकास तथा पर्यटनमा समेत सघाउ पुग्ने एकेडेमीका उपाध्यक्ष राजेश गुरुङ बताउँछन् । उनले भने, ‘गत वर्ष राम्रोसँग प्रतियोगिता भएको थियो । टि–२० क्रिकेटले खेलाडीसहित यहाँका व्यवसायीलाई पनि सपोर्ट गर्नेछ ।’
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने एकेडेमी सचिव कृष्ण तिमिल्सिनाले बताए ।