काठमाडौं । ‘भिजिट भिसा’को संगठित जालो उच्च तहबाटै सञ्चालन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालिरहँदा दलालको प्रलोभनमा परी कुवेत र साउदी अरब पुगेका नेपाली कामदार अलपत्र परेका छन् । काठमाडौ ंस्थित मदिना इन्टरनेसनल सर्भिसेज र शरोन म्यानपावर सर्भिसेज प्रालिबाट करिब ४ महिनाअघि कुवेत पुगेका २० जनाभन्दा बढी नेपाली कामदार अलपत्र परेका हुन् ।
पीडित भन्छन् : दूतावासले सुन्दैन, म्यानपावरले टेर्दैन
म्यानपावरबाट सम्झौताअनुसारको काम र तलब नपाउँदा ‘आफूहरू अलपत्र परेको’ शेरोन म्यानपावरबाट त्यहाँ पुगेका दिनेशकुमार राईले जानकारी दिए । म्यानपावर र एजेन्टलाई प्रतिव्यक्ति २ लाख ८० हजारभन्दा बढी रुपैयाँ तिरेर त्यहाँ पुगेका उनीहरू ४ महिनादेखि कामविहीन भएर भोकभोकै बस्न बाध्य छन् ।
‘हामी २ लाख ८० हजार रूपैयाँ बुझाएर कुवेत आएका हौं, ४ महिना भइसक्यो काम पाएका छैनां,’ राजधानी दैनिकको सम्पर्कमा आएका दिनेशले भने, ‘नेपालबाट पठाउँदा काम नगरे पनि बेसिक तलब दिन्छ भनेको थियो, तर यहाँ कम्पनीले काम नगरे बेसिक तलब पनि दिन्न भनेर दिएको छैन ।
काम दिनु त परको कुरा सीभिल आईडी पनि बनाइदिएको छैन ।’ आफूहरूले कम्पनीलाई ‘काम दिन नसक्ने भए नेपाल फिर्ता पठाइदिन’ आग्रह गर्दा नेपालको म्यानपावरलाई कुरा गर्नुभन्ने गरेको उनीहरूले बताएका छन् ।
उनीहरूले कुवेतस्थित नेपाली दूतावासले समस्या नसुन्ने र म्यानपावरले नटेर्ने गरेको भन्दै उद्धारको याचना गरेका छन् । खानाको लागि भनेर दिएको पैसा पनि सकिएको भन्दै आफूहरू अब भोकभोकै पर्र्ने अवस्था आएको उनीहरूले बताएका छन् । ‘कहाँ जाने, के गर्र्ने म मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
यता, शेरोन म्यानपावरका प्रतिनिधि नवीन देवकोटाले केहीको समस्या समाधान भइसकेको, अब बाँकी करिब २० जना रहेको र उनीहरूलाई कम्पनीले काम नदिए जुन १० तारिखभित्र सबैलाई नेपाल फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, अर्को एक म्यानपावरबाट करिब डेढ महिनाअघि मात्र साउदी पुगेका १० नेपाली युवा पनि अलपत्र परेका छन् ।
पीडितले सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै डेढ महिनादेखि ‘न काम, न दाम र अकामा पनि नदिएकाले’ आफूहरू गैरकानुनी रूपमा रहेको बताएका छन् । दिनको १ बजेतिर मरुभूमिको बीचमा लगेर अलपत्र पारेको र दुई दिनदेखि भोकभोकै रहेको भन्दै उद्धारको अपिल पनि उनीहरूले गरेका छन् ।
‘साउदी प्रहरीले हामीलाई जुनसुकै बेला पक्राउ गर्न सक्छ, हामी यहाँ मरुभूमिको बीचमा छौं, चाँडो उद्धार गर्नुहोस्,’ उनीहरूले जारी गरेको भिडियोमा भनिएको छ । उनीहरूले पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन सबै सरोकारवाला निकायहरूलाई अपिल गरेका छन् ।