स्याङ्जाका ३ विद्यालयको नतिजा शुन्य

स्याङ्जा । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा स्याङ्जामा तीन विद्यालयले शुन्य नतिजा ल्याएका छन् । राष्ट्रिय स्तरमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा स्याङ्जामा ६७.६३ प्रतिशत उत्तीर्ण भएपनि तीन सामुदायिक विद्यालयले शुन्य नतिजा ल्याएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाले सार्वजनिक गरेको जिल्लाभरको नतिजा अनुसार तीन विद्यालयले एउटा पनि विद्यार्थी एसईईमा पास गराउन नसकेको जानकारीमा आएको थियो । गतबर्ष ४३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने यो बर्ष ग्रेडेड हुने प्रतिशत बढेर ६७.६३ पुगेको छ ।

एसईईको नतिजामा सुधार आएको दावी गरिएका बेला स्याङ्जाका तीन विद्यालयले भने शुन्य नतिजा दिदा फेरी सामुदायिक विद्यालयलाई गिज्जाइरहेको देखिन्छ । जिल्लाबाट एसईई परीक्षामा सहभागी १ सय ७२ विद्यालयहरु मध्ये ३ वटा विद्यालयको नतिजा शून्य हुँदापनि जिल्लाको एसइई परीक्षाको नतिजा राम्रो देखिएको छ । गतबर्ष भन्दा यो बर्ष ग्रेडेड हुने विद्यार्थीको प्रतिशत बढेकाले केही सुधार देखिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख विश्वराज आचार्यले बताए ।

शुन्य नतिजा ल्याउने विद्यालय गल्याङको शिशुकल्याण मा.वि., चापाकोटको मणिकुन्देश्वर वेदविद्याश्रम र हरीनाशको अमला भञ्याङ मा.वि. रहेका छन् । शून्य नतिजा ल्याउने ३ वटै विद्यालय सामुदायिक विद्यालय रहेका छन् । शिशुकल्याण माविबाट ७, मणिमुकेन्देश्वर वेदविद्याश्रमबाट २ र अमला भञ्याङ माविबाट ५ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

स्याङ्जाका तीन विद्यालयले शुन्य नतिजा दिएपनि गतवर्षको तुलनामा यो बर्ष एसइई परीक्षामा २५ प्रतिशत बृद्धि भएकाले उल्लेखनीय सुधार देखिएको छ । अहिले राष्ट्रिय नतिजाको तुलनामा पनि स्याङ्जाको नतिजा राम्रो देखिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख आचार्यले बताए । स्याङ्जाका सामुदायिक विद्यालयले यो बर्षको एसइई परीक्षमा ६१ प्रतिशत नतिजा दिन सफल भएको आचार्यको भनाई छ । यो नतिजा सन्तोषजनक रहेको आचार्यले बताए ।

गतबर्षको नन्—ग्रेडिङ् ह्ने नतिजालाई हेर्दा यो बर्षको नतिजाले केही आशा पलाएको छ । ग्रेडेड उच्चतम ल्याउने विद्यार्थीको संख्या बढाउन अझै मेहनत गर्नुपर्ने सुझाव आचार्यको छ । परीक्षामा विद्यार्थीको लगनशिलता, शिक्षण सिकाईमा शिक्षकको मेहनत र अभिभावकको सहयोगी भुमिका रहेमा यो बर्षको भन्दा आउदो बर्ष एसइईको नतिजा अझै राम्रो हुने विश्वास आचार्यको छ ।

स्याङ्जाबाट अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी अर्जुनचौपारी, पाइनिअज हायर एजुकेशन एकेडेमी वालिङ, नेपाल आदर्श अ.आ.मा.वि. वालिङ र भगवती नमूना मा.वि मिर्मिका एक–एक जना गरी ४ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । ४ जिपिए ल्याउने जिल्लाका ४ वटा विद्यालयहरु मध्ये ३ वटा संस्थागत विद्यालय हुन भने एउटा मात्र सामुदायिक विद्यालय रहेको छ ।

प्रत्येक विषयमा सैद्धान्तिक तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नन–ग्रेडिङ हुने व्यवस्था अनुसार एसईईको नतिजा सार्वजनिक भएको हो । इकाईका अनुसार स्याङ्जामा नियमित तर्फ जीपीए ३.६ देखि ४ ल्याउनेको संख्या ३ सय २१ रहेको छ । त्यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउने ७ सय २८ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९ सय ४७ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४ सय ८६ जना, २ देखि २.४ जीपीए ल्याउने ३३ जना गरी जम्मा २ हजार ५ सय १५ विद्यार्थी ग्रेडेड भएका छन् भने नन ग्रेडेड– १ हजार २ सय ४ जना छन् । गतवर्ष स्याङ्जाबाट एसईईमा कुल ३ हजार ७ सय १९ परीक्षार्थी सहभागी थिए ।

पालिकागत रुपमा नतिजा विश्लेषण गर्दा सबैभन्दा उत्कृष्ट वालिङ नगरपालिका र कमजोर हरिनास र विरुवा गाउँपालिका देखिएको छ । वालिङको उत्तीर्ण ८० प्रतिशत, भीरकोटको ७४ प्रतिशत, चापाकोटको ७२ प्रतिशत, फेदीखोलाको ७० प्रतिशत, अजुनचौपारीको ६६ प्रतिशत, पुतलीबजारको ६४ प्रतिशत, गल्याङको ६३ प्रतिशत, आँधीखोला र कालीगण्डकीको ५९ प्रतिशत तथा हरिनास र विरुवाको ४८ प्रतिशत रहेको छ । संस्थागततर्फ उत्तीर्ण प्रतिशत ८७ प्रतिशत र सामुदायिकतर्फ ६१ प्रतिशत रहेको कार्यालयले जनाएको छ । जिल्लामा ८ वटा सामुदायिक र ६ वटा संस्थागत गरी १४ वटा विद्यालयको नतिजा शतप्रतिशत रहेको छ ।

अहिलेको नतिजा कायम राख्न स्थानीय सरकारहरु चनाखो भइरहनुपर्ने आचार्यको भनाई छ । स्थानीय सरकारहरुले राम्रो नतिजा ल्याउने शिक्षकलाई प्रोत्साहन गर्ने, शिक्षकको साहयता र पेशागत विकासका लागि सहयोगी भुमिका र बाह्रय तालिम भन्दा पनि कक्षा कोठा केन्द्रित् तालिमलाई ध्यान दिनुपर्ने सुझाव आचार्यको छ ।

शिक्षा इकाईले पनि स्थानीयतह र शिक्षकहरुलाई पटक—पटक गुणस्तरीय शिक्षणका लागि सुझाव दिदै आएको उनले बताए । हामीले दिएको सुझावलाई अहिले केही कार्यन्वयन भएको हो की भन्ने देखिएको बताउदै शिक्षा समन्वय अधिकारी आचार्यले यो सुधारलाई सकरात्मक लिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 546 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण रहेको शेखर समूहको निस्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही