लिपुलेकवारे नेपालले बेइजिङमा कुरा उठाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका क्रममा लिपुलेकमा चीन र भारतले गरेको व्यापार सहमति’bout कुरा उठाउने भएका छन् ।

सी र मोदीसँग वार्ता तय

सांघाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागी हुन १४ भदौमा प्रधानमन्त्री चीन जाँदै छन् । परराष्ट्र मन्त्रालयले उनको भ्रमणको कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ ।

भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली भूमि प्रयोग गरेर व्यापार गर्नेगरी गरेको सहमतिका विषयमा कुरा उठाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा राष्ट्रपति सीसँग भेटघाटको तय भइसकेको र भारतका प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ता तय भएको बताएका छन् ।

सो भेटमा लिपुलेकका विषयमा दुवै देशका राष्ट्रप्रमुख तहमै कुरा उठाउनेगरी नेपाली प्रतिनिधिमण्डलले तयारी गरिरहेको उनको भनाइ छ ।

तर, नेपालले यस विषयलाई कसरी उठाउँदै छ र के–के विषयमा कुरा हुन्छ भन्ने विषयमा भने ठोस तयारी छैन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिलेसम्म मन्त्रालयलाई भ्रमणका क्रममा पछिल्ले सहमतिमा नेपालको अडानका विषयमा गृहकार्य गर्न अहिलेसम्म मन्त्रालयलाई भनिएको छैन ।

तर, सरकारले भने चीन भ्रमणका बेला यो विषय उठाएर भारत भ्रमणका क्रममा समेत औपचारिक रूपमै उठाउने भनेको छ । दुवै देशसँग हुने औपचारिक वार्तामा यस विषयलाई कसरी प्रवेश गराउने र के–के विषयमा नेपालले आपत्ति या ध्यानाकर्षण गराउने भन्ने विषय भने अहिलेसम्म टुंगो लागेको छैन ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । १६ भदौमा प्रधानमन्त्रीले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

१७ भदौ प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् भने सो भेटमा प्रधानमन्त्री ओलीसँगै उच्चस्तरीय प्रतिनिधिमण्डल पनि भ्रमणमा सहभागी हुने भएको छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यसहित शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् । भ्रमण सकेर प्रधानमन्त्री ओली १८ भदौमा स्वदेश फर्किने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश