काठमाडौं । पछिल्लो समय भूत प्रेतको कथामा हरर जनराको चलचित्र निर्माणको क्रम मौलाएको छ । यसै क्रममा हरर जनराकै नयाँ चलचित्र ‘महादशा’को निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौँमा एक समारोहबिच यो चलचित्रको निर्माण घोषणा गरियो ।
आधा दर्जन चलचित्र निर्माण गरिसकेका निर्माता किरण नेपालीले यो चलचित्रबाट निर्देशनमा डेब्यु गर्दै छन् । समारोहमा चलचित्रको नाम घोषणसँगै ‘महादशा’को प्रि–टिजर समेत सार्वजनिक गरियो ।
लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने यो चलचित्रको प्रि–टिजर एउटा घर भित्र भूत प्रेतले दिएको दुःखमा आधारित रहेको छ । स्वर्गद्धारी पाहुना घरमा पुगेका पाहुनाहरूले भूतसँग भोगेको शास्तीलाई यो प्रि टिजरमा समेटिएको छ । बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत यो प्रि टिजर सार्वजनिक गरिएको छ ।
चलचित्र ‘महादशा’मा प्रमोद अग्रहरी, प्रेमा लामगाढे, हाकिम गुरुङसहित विभिन्न कलाकारहरूको अभिनय रहने छ । यो चलचित्रलाई मनिष गौतमले लेखेका हुन भने यसको निर्मातामा राजे के. शाह, श्याम मगर र अमला देवी राई रहेका छन् । सुरज आचार्य यो चलचित्रका कार्यकारी निर्माता हुन् । अनीश अधिकारी र समर चौलागाई यो चलचित्रको प्रोडक्सन म्यानेजर रहेका छन् ।
निर्देशक किरणले घोषणा समारोहमा भने,‘चलचित्रले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने छ । चाँडै नै हामी यो चलचित्रको छायांकनमा जाने छौँ ।’