काठमाडौं । गत महिना छायांकन सम्पन्न भएको नेपाली चलचित्र ‘शिवांश ः च्याप्टर–१’ अहिले पोस्ट प्रोडक्सनमा छ । यो चलचित्र अब २७ कात्तिकमा चलचित्र घरमा आउने भएको छ । निर्माण पक्षले शनिवार यो चलचित्रको फस्ट लुक्स (पोस्टर) सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति २७ कात्तिकलाई तोकेको हो ।
शिवांशको अर्थ शिवको अंश भएको निर्माण पक्षको कथन छ । त्यसैले यसको फस्ट लुक्समा कैलाश पर्वतमा शिव र शिवको वाहन साँढेलाई समेटिएको छ । जटाधारी शिव कैलाश पर्वततर्फ उक्लिँदै गरेको दृश्य पोस्टरमा छ ।
यो चलचित्रमा तेज गिरी, प्रवीण खतिवडा, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहेको छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय चलचित्र हो । यसको निर्मातामा अञ्जान केसी छन् । कथा पनि अञ्जान केसीले नै लेखेका हुन् । जसमा पटकथा बारत लिम्बूको छ ।
जसमा शरद महतोको छायांकन, न्ह्यू बज्राचार्य र राजनराज सिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको कोरियोग्राफी, बिराज खड्का भीएफएक्स रहेको छ । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनीश केसी बोगटी छन् भने कार्यकारी निर्माता शम्भु थापा हुन् ।