सशस्त्रका एसपीसहितका १६ अधिकृतको कार्यसम्पादनमा प्रश्न

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका इकाईहरूमा कमान्डरका रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूको राजस्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकैपटक एसपीसहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले प्रधान कार्यालयले आइतबार १ एसपी, १ डीएसपी, ७ इन्स्पेक्टर, ६ सई र १ असई गरी १६ जनालाई कमान्डको जिम्मेवारीबाट हटाएको जानकारी दिए । सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई कमान्डबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीलाई पठाइएको छ ।

एकैपटक जिम्मेवारीबाट हटाइयो

यसैगरी, बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बीओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायब निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवा बाराका सशस्त्र प्रहरी नायब निरीक्षक गणेश गिरी र झरखोर पोस्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको हो ।

यस्तै, पर्सा जिल्लास्थित बोर्डर आउट पोस्ट प्रसौनी भाठाका सशस्त्र प्रहरी निरीक्षक सञ्जीव बानियाँ क्षेत्री, बीओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा बेस बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायब निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायब निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

यसैगरी, पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोस्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रूपक नापित र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन चन्द, बोर्डर आउट पोस्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द, बीओपी लल्लीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक मोहनराम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार सीमा इलाकामा कार्यरत कमान्डरहरूलाई मुख्यालयबाट समेत सूक्ष्म रूपमा निगरानी बढाइएको छ । सन्तोषजनक काम नगर्ने गणपतिसहितका दर्जनौं अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारबाहीमा समेत परेका छन् । मुख्यालयले अन्य प्रदेशमा समेत सूक्ष्म रूपमा निगरानी बढाएको जनाइएको छ । गण, गुल्म तथा बीओपी कमान्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा