वालिङ नगरको घुमफिरमा अनियमित खर्च

हामी हिडियोः वालिङ नगरपालिकाको आयोजनामा भारतको पतन्जली योग पिठमा अध्ययन अवलोकन गर्न जानेक्रममा नगर परिसरभित्र खिचिएको तस्विर । मुल्य श्रृङ्खलामा आधारित जडिबुटी उत्पादन तथा बजारीकरण सम्वन्धी अध्ययन गर्न ५५ सदस्यीय टोली भ्रमणमा निस्किएको उपप्रमुखको सचिवालय पेजमा यो तस्विर सार्वजनिक गरिएको थियो । तस्विर: उपप्रमुख कविता तिवारीको सचिवालयबाट

स्याङ्जा । स्मार्ट उन्मुख नगर स्याङ्जाको वालिङ नगरपालिकाले अध्ययन, अवलोकन गर्ने नाममा गरिएको भ्रमणबाट लाखौ रकम खर्च गरेको देखिएको छ । आर्थिक बर्ष २०८०–०८१ मा वालिङ नगरपालिकाले विभिन्न जिल्लामा अध्ययन अवलोकन गरेको भ्रमण खर्चमा २४ लाख ९७ हजार ९ सय ४० रुपैयाँ खर्च गरेको देखिएको हो ।

महालेखापरीक्षकको कार्यालयले गरेको लेखारीक्षण प्रतिवेदनमा नगरपालिकाले गरेको भ्रमण खर्च उल्लेख गरिएको छ । महालेखाले उक्त खर्चलाई उदेश्य बेगरको घुमफिर खर्च भएको समेत जनाएको छ । भ्रमणको सही सदुपयोग छ भन्ने आधार नरहेको भन्दै महालेखाले अनियमित खचलार्ई बेरुजुमा दर्ज गराइदिएको छ ।

आर्थिक बर्ष २०७९–०८० मा पनि महालेखाले भ्रमण खर्च उल्लेख नगरेपनि सुझाव दिएको उल्लेख गरेको छ । भ्रमण खर्च नियमावली, २०६४ बमोजिम भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले भ्रमण गर्नुको उदेश्य र कार्य स्पष्ट उल्लेख गरी सम्वन्धित अधिकारीबाट स्वीकृत लिएर गर्नुपर्ने व्यवस्था छ । भ्रमण नियमावली २०६४ अनुसार प्रक्रिया अवलम्वन गरेर मात्रै भ्रमण गर्न महालेखाले लेखा प्रतिवेदनमा सुझाव दिएको छ ।

तर वालिङ नगरपालिकाले आर्थिक बर्ष २०८०–०८१ मा भ्रमण आदेशको र खर्च नियमावलीको कुनै प्रक्रिया अबलम्बन नगरी गरेको भ्रमण खर्चलाई अनियमित खर्चका रुपमा उल्लेख गरिएको दिएको छ । ठोस उदेश्य किटान नगरी भ्रमण खर्च लेख्दा भ्रमणको औचित्य यथार्थपरक नभइ खर्च अनियन्त्रित देखिने हुनाले पालिकाले स्पष्ट उदेश्य तथा कार्य बेगर भ्रमण खर्च भुक्तानी गर्ने कुरामा नियन्त्रण गर्न महालेखाले सुझाव दिएको छ । उदेश्य विनाका खर्चलाई घुमफिर मानिने हुँदा उक्त खर्च आफै व्यहोर्न समेत संकेत गरेको छ ।

दुई आर्थिकबर्षको महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार नगरपालिकाले भ्रमण आदेशको प्रयोजन नगरी र उदेश्य विनाको भ्रमण गरेर खर्च गरेको देखिएको छ । आर्थिकबर्ष २०७९–०८० मा खर्च नलेखेर सुझाव दिएको महालेखाले आर्थिकबर्ष २०८०–०८१ मा भने खर्च नै उल्लेख गरेर पुन सुझाव दिएको छ । महालेखा आर्थिक पार्दशिताको सूचक हो भन्ने सम्म थाहा नपाउने नगरपालिका प्रमुख र उपप्रमुख अनावश्यक खर्च गरेको महालेखाले देखाएको छ । यसको अर्को उदाहरण हो सवारी ईन्धन खर्च । गण्डकी प्रदेश सरकारद्धारा पारित गाउँसभा नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्वन्धी ऐन २०७६ मा नगर प्रमुख र उपप्रमुखले प्रति महिना ९०–९० लिटर सवारी ईन्धन पाउने व्यवस्थालाई समेत उल्लघंन गरेको महालेखाले औल्याएको छ ।

वालिङ नगरपालिकाका प्रमुख उपप्रमुले आर्थिक बर्ष २०८०–०८१ मा कार्यालय प्रयोजनका लागि भन्दै सवारी ईन्धनमा ३५ लाख खर्च गरेका छन् । बर्षभरीमा प्रमुख र उपप्रमुखले १ हजार ८० लिटर ईन्धन सुविधा पाउने कानुनी व्यवस्था छ । तर पालिकाका प्रमुखले प्रयोग गर्ने गाडीमा २६९३ लिटर डिजेल र उपप्रमुखले प्रयोग गर्ने गाडीमा ३९९७ लिटर तेल खपत गरिएको महालेखाले सार्वजनिक गरेको लेखा प्रतिवेदनमा उल्लेख छ । तोकिएको परिणाम भन्दा अत्याधिक खपत भएका कारण सवारी साधन पालिकाको काममा मात्रै प्रयोग भएको भनी एकिन गर्न सकिएन भन्दै महालेखाले अनियमित खर्चमा उल्लेख गरेको छ । यसमा मितव्ययी अपनाउन समेत सुझाव उल्लेख गरिदिएको छ ।

जनप्रतिनिधिले भ्रमण खर्च धेरै गरे भनेर नागरिकबाट आलोचना भएरहेका बेला चालु आर्थिक बर्षको शुरुमै फेरी वालिङ नगरपालिकाले जम्बो टोली लिएर भारत भ्रमण गरेको छ । उपप्रमुख कविता तिवारीको नेतृत्वमा जिल्ला समन्वय प्रमुख, उपप्रमुख, नगरको वडा अध्यक्ष सहित कार्यपालिका, राजनीतिकदल, शाखा प्रमुखहरु, पत्रकार, डिभिजन बन कार्यालय लगायत ५५ जनाको जम्बो टोली भारत भ्रमणमा गएको छ । जडीबुटी उत्पादन र बजारीकरण सम्वन्धी अध्ययन अवलोकन गर्न भन्दै भारतको हरिद्धार पतन्जली योग पिठ प्रस्थान गरेको जनाएको छ । कार्यपालिकाको बैठकबाट भ्रमणको निर्णय भएपनि खर्च र कतिजना सहभागी हुने भन्ने बिषयमा बैठकले अन्योलता देखाएको छ । यस बिषयमा नगर प्रमुख कृष्ण खाँणले भने जडीबुटीको सम्वन्धमा पतञ्जलीसगँ छलफल भइरहेको र सोही मुताविक यो भ्रमण आयोजना गरिएको बताए ।

भ्रमणको नेतृत्व उपमेयरले गर्ने र पतन्जीसगँ पनि समन्वय गर्ने जिम्मेवारी उहाँलाई नै दिएको बताए । खर्चको बिषयमा के हो भनी सोधेको प्रश्नमा नगर प्रमुख खाँणले नेपालको खर्च नगरपालिकाले र भारतको खर्च पतन्जलीले व्यहोर्ने कुरा भएको बताए । तर यो भ्रमणको बिषयमा पतन्जलीले आधिकारीक पत्र भने नपठाएको बताइएको छ । नेपालभन्दा बाहिर भ्रमणगर्दा नेपाल सरकारको अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । पालिकाले सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखामा पत्राचार गरेपनि प्रक्रिया नपुगी आएकाले फिर्ता पठाइदिएको शाखा अधिकृत दिनेश ढकालले बताए । नगरपालिकाले जम्बो टोली लिएर भ्रमण गरेको बिषयमा अहिले आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश