काठमाडौं । नेपाली लोक पप ब्यान्ड नेपथ्य यति बेला युरोप यात्रामा छ । यसै क्रममा यो ब्यान्डले शनिवार बेलुका डेनमार्कको राजधानी कोपनहेगनमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । युरोपमा औद्योगिक युगको पुरानो वैभव सम्झाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो ‘पुलेन हल’मा त्यो क्षेत्रका दर्शकलाई नेपथ्यले आफ्ना गीत संगीतबाट यसपटक नचाएको छ ।
कोपनहेगनमा नेपथ्यको कन्सर्ट हेर्नका लागि डेनमार्कसँगै फिनल्यान्ड, जर्मनी, नर्वे, अस्ट्रिया, पोल्यान्ड, स्विडेन र बेल्जियमसम्मका दर्शकहरू कार्यक्रम स्थलमा पुगेका नेपथ्यका मुख्य गायक अमृत गुरुङले जानकारी गराएका छन् ।
करिब २ घण्टासम्म चलेको सो कन्सर्टमा ब्यान्डका मुख्य गायक अमृतले ‘कोसीको पानी…’ गाउँदै कार्यक्रमको शुभारम्भ गरेका थिए । पहिलो गीतबाट दर्शकहरूको चर्को समर्थन सुरु भएको कार्यक्रममा उनीहरू गीतमा झुम्न थाले ।
गायक अमृतलाई कन्सर्टमा प्रत्यक्ष वाद्यवादन तर्फ ड्रम सेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिइरहेका थिए । आफू नै वर्ष पछि डेनमार्कको एतिहाँसिक सहर कोपनहेगनमा उभिएर त्यहाँका नेपालीहरू माझ आफ्नो सांगीतिक प्रस्तुति दिन पाउँदा निकै खुसी लागेको गायक अमृतले कार्यक्रममा बताए ।
गत जेठमा बजारमा ल्याएको ‘कर्णाली…’गीत प्रस्तुत गर्दै अमृतले कन्सर्ट अघि बढाए । यो क्रममा प्रस्तुति दिँदै जाँदा ‘तालको पानी…’ ‘रेसम…’, ‘जुगले हुन्छ भेट…’, ‘भेडाको उन जस्तो..’, ‘चरी म¥यो…’जस्ता चर्चित गीतहरू प्रस्तुत गर्दै गए । आफ्ना हरेक प्रस्तुतिमा दर्शकहरूले निरन्तर नृत्य गरेर साथ दिएको पनि उनले जानकारी गराए ।
यो सांगीतिक साँझमा डेढ दर्जन गीत प्रस्तुत पछि ‘रातो र चन्द्र सुर्जे…’ गीत गाउँदै नेपथ्य ब्यान्डले कोपनहेगनको आफ्नो सांगीतिक साँझ टुंग्यायो । नजिकिँदै गरेको दसैँको अवसरमा आफ्नो परिवारलाई भेटेर राम्रोसँग दसैँ मनाउन र मिल्छ भने दसैँमा नेपाल समेत आउनु सुझाव दिँदै अमृतले स्टेजबाट बिदा मागे । यसरी युरोप यात्रामा रहेको नेपथ्यले माल्टा पछि डेनमार्कमा आफ्नो प्रस्तुति दिएको हो ।
यो कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि आयोजक नेको इभेन्टका पवन पाण्डेले भने,‘लामो समयदेखिको प्रयासपछि बल्ल यो भव्य कन्सर्ट सम्पन्न भएको हो । नेपथ्यलाई यहाँ प्रस्तुत गर्ने धेरै वर्ष देखिको सपना एकातिर पुरा भएको छ भने अर्कोतिर दर्शक रमाएर फर्किएको देख्दा खुसी लागेको छ ।’
नेको इभेन्टस्ले सन् २०१४ देखि डेनमार्कमा बसोबास गर्ने नेपाली समुदायका लागि विविध कार्यक्रमहरू गर्दै आइरहेको पनि पवनले जानकारी गराए । आफूहरूले नेपाली संस्कृतिको संरक्षणका लागि विभिन्न नेपाली चाडपर्वमा नेको इभेन्ट्सद्धारा डेनमार्कमा बसोबास गर्ने नेपालीहरूका भेला गरेर सांस्कृतिक कार्यक्रम सहित सामाजिक गतिविधिहरू गर्दै आएको पनि उनले बताए ।
यो कन्सर्टमा मुख्य अतिथि बनेकी नेपाली राजदूत सुम्निमा तुलाधरले कोपनहेगनमा भएको अहिलेसम्मकै सबैभन्दा भव्य नेपाली सांगीतिक कार्यक्रम यो साबित भएको प्रतिक्रिया दिइन् । यसलाई उनले बृहत् नेपाली सांगीतिक उत्सवको रूपमा पनि सम्बोधन गरिन् ।
युरोपका विभिन्न सात स्थानमा प्रस्तुतिका लागि एक महिना अघि सांगीतिक यात्रामा निक्लेको नेपथ्यले अब यो यात्राको अन्तिम प्रस्तुति बेल्जियमको एन्थ्रोपेन सहरमा दिने भएको छ । त्यहाँस्थित ‘स्टुडियो सेभेन– एईडी स्टुडियोज’ यही ३ सेप्टेम्बरमा आफ्नो प्रस्तुत रहने नेपथ्यका प्रमुख अमृतले जानकारी गराएका छन् । यो कन्सर्टको पनि दुई तिहाइ भन्दा बढी टिकट अग्रिम बुकिङ भइसकेको पनि उनको कथन छ ।