काठमाडौं । पाँच दिन अघि टुँडिखेलमा एक समारोहबिच निर्माण घोषणा गरिएको नेपाली चलचित्र ‘कुमारी’ को मंगलबारबाट छायांकन सुरु भएको छ । मंगलवार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको औपचारिक मुहूर्त सहित छायांकन सुरु गरिएको हो ।
यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरिरहेका छन् । यसको ३५ दिनमा सम्पूर्ण छायांकन सक्ने लक्ष्य रहेको दिनेशले राजधानीलाई बताए । यस चलचित्रमा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। यी दुईसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांषा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारजस्ता कलाकारहरूको अभिनय रहने छ ।
बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दै छन् । यसको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । ‘कुमारी’मा केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको संगीत छ ।
सुसन प्रजापतिको छायांकन रहेको यो चलचित्रका कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, रंग संयोजक सुप्रिम पराजुली, ध्वानी डिजाइनर उत्तम न्यौपाने र कोरियोग्राफर किरण थापा हुन् ।